इस्लाममा नारीको स्थान

इस्लाममा नारीको स्थान

इस्लामले नारीलाई ठूलो सम्मान प्रदान गरेको छ। नारी न त पुरुषको दासी हो, न कुनै सस्तो खेलौना ! इस्लामले नारीलाई छुट्टै पहिचान र अधिकार दिएको छ, तीमध्ये केही अधिकारहरु यसप्रकार छन्…

  • इस्लामले नारीलाई पैत्रिक सम्पत्तिमा न्यायपूर्ण हक अधिकार दिएको छ। कुनै अवस्थामा पुरुष समान छ र कुनै अवस्थामा नाता, जिम्मेवारी, कार्यभार र खर्चको आधारमा फरक गरेको छ।
  • इस्लामले धेरै जसो कुराहरुमा महिला र पुरुष बीच समानता कायम गरेको छ, खास गरी आर्थिक कारोबारमा। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “महिलाहरु पुरुषका अर्धाङ्गिनी हुन्।” (श्रोत- अबु-दाऊद : २३६)
  • इस्लामले महिलालाई आफूले मन पराएको जीवन साथी रोज्ने अधिकार दिएको छ। छोरा-छोरीको हेरचाह गर्ने र गतिलो संस्कार दिने जिम्मेवारी उनीहरुको काँधमा राखेको छ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “श्रीमती श्रीमानको घरको अभिभावक हुन् र उनीसित उनको जिम्मेवारीप्रति सोधिनेछ।” (श्रोत- बुखारी : ८५३, मुस्लिम : १८२९)
  • महिलाले विहेपछि आफ्नो नाम र थर परिवर्तन गर्नु पर्दैन, उसको नाम, थर र आफ्नो पितासँगको नाता कायम रहिरहनेछ।
  • उनीहरूका सारा खर्च तथा हेरचाहको जिम्मेवारी पुरुषमाथि बिना उपकार अनिवार्य गरेको छ। विशेष गरी श्रीमती, आमा र छोरीको खर्च बेहोर्नु अनिवार्य छ।
  • कमजोर महिला जसको कोही छैन र नातेदार पनि होइन तै पनि उसको सेवा गर्नुलाई ठूलो पुण्य घोषित गरेको छ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले “विधुवा, गरीब र दीन-दु:खीहरुको हेरचाह र सेवा गर्ने व्यक्तिलाई जिहाद (धर्म युद्ध) गर्ने वा दिउँसो ब्रत बस्ने र राति सलाह पढ्ने व्यक्ति बराबरको स्थान दिनु भएको छ।” (श्रोत- बुखारी : ५६६१, मुस्लिम : २९८२)

इस्लामले यी महिलाहरुको हेरचाहमाथि जोड दिएको छ-

आमा- अबु-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गर्नु भएको छ, एक जना सहाबीले रसूल (सल्लल्लाहु अलैहि व सल्लम) सित प्रश्न गर्यो : मेरो सेवा, माया र आदरका सबभन्दा नजिकको हकदार को हो ? उहाँले जवाफ दिनु भयो… तिम्री आमा, उसले फेरी सोध्यो : त्यसपछि को ? उहाँले जवाफ दिनु भयो… तिम्री आमा, उसले फेरी सोध्यो : त्यसपछि को ? उहाँले तेस्रो पल्ट जवाफ दिनु भयो… तिम्री आमा, उसले फेरी सोध्यो : त्यसपछि को ? उहाँले (चौथो पल्टमा) जवाफ दिनु भयो… तिम्रो बुवा।” (श्रोत- बुखारी : ५६२६, मुस्लिम : २५४८)

छोरी- आमिर-पुत्र उक्बा (रजियल्लाहु अन्हु) ले बयान गर्नु भएको छ कि मैले रसूल (सल्लल्लाहु अलैहि व सल्लम) लाई भन्दै सुनेको थिएँ… “जसको तीनवटा छोरीहरु छन्, उसले आफ्नो छोरीहरूलाई पर्याप्त माया गर्छ, गाँस, बास र कपासको व्यवस्था गर्छ भने ’em आफ्नो बुवाको लागि नरकको बाधक बन्नेछन्।” (श्रोत- इब्ने माजा : ३६६९)

श्रीमती- आईशा (रजियल्लाहु अन्हा) ले बयान गर्नु भएको छ, रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भयो… “तिमीहरुमध्ये त्यो व्यक्ति प्रतिष्ठित हो, जो आफ्नो घरपरिवारसँग भद्र व्यवहार गर्दछ र म आफ्नो घरपरिवारसित भद्र व्यवहार गर्दछु।” (श्रोत- तिर्मिजी : ३८९५)