ईदुल्-फित्र

ईदुल्-फित्र

ईद र चाडपर्वहरु धर्मको प्रतीक हो। जुन बेला रसूल (सल्लल्लाहु अलैहि व सल्लम) मदीना पुग्नु भयो, त्यहाँका बासिन्दाहरुलाई वर्षमा दुई पटक चाडपर्वमा रमाइलो गर्दै गरेको देख्नु भयो। उहाँले सोध्नु भयो… “यो के को खुशियाली हो ?” उनीहरुले जवाफ दिए : इस्लाम पूर्व बाजे पुर्खाको पालादेखि नै हामीहरु यस्तै गर्दै आएका हौं। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भयो… “अल्लाहले तिमीहरुका लागि यो भन्दा राम्रो दुई दिन प्रदान गर्नु भएको छ; ईदुल्-फित्र र ईदुल-अद्हा।” (श्रोत- अबु-दाऊद : ११३४) रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले चाड पर्वको महत्व दर्शाउँदै भन्नु भएको छ… “हरेक समुदायको केही न केही पर्व हुन्छ र यो नै हाम्रो एक महत्वपूर्ण पर्व हो।” (श्रोत- बुखारी : ९०९, मुस्लिम : ८९२)

इस्लाममा ईद-

ब्रत समाप्तिको खुशीयाली मनाउन अल्लाहले मुसलमानहरुका लागि एक दिन निर्धारण गर्नु भएको छ जसलाई अरबीमा ईद भनिन्छ। यो ईदको दिनमा राम्रो खानु, राम्रो लाउनु, गरीबलाई दान दिनु, शुभकामना आदान प्रदान गर्नु, जायज तरिकाले रमाइलो गर्नु, अल्लाहको वरदानलाई सम्झेर उहाँको कृतज्ञता व्यक्त गर्नु र गराउन लगाउनु कहिल्यै पनि बिर्सनु हुँदैन।

 

मुस्लिमका ईदहरु-

मुस्लिमहरुको चाड पर्वको लागि वर्षमा दुई दिन निर्धारण गरिएको छ। ईदुल्-फित्र जुन ब्रतको समाप्तिपछि दशौं महिनाको पहिलो दिन र ईदुल-अद्हा जुन १२ औं महिनाको दशौं दिन पर्दछ। यी दुई दिन बाहेक अरुको देखासिकी गरी नयाँ चाडपर्वको आविष्कार गर्नु वैध छैन।

ईदुल्-फित्र

रमजान महिनाको समाप्तिपछि दशौं महिनाको पहिलो दिनमा नै ईदुल्-फित्र मनाइन्छ। जसरी रमजान भरी ब्रत बसेर अल्लाहको उपासना गरिन्छ, त्यसरी नै पर्वको दिन ब्रत नबसेर खुशियाली मनाएर उपासना गरिन्छ। मुस्लिमहरु ब्रत समाप्तिको खुशियालीमा अल्लाहको कृतज्ञता व्यक्त गर्छन्, किनकि उहाँको कृपा नभएको भए राम्रोसँग ब्रत बस्न त परै जाओस् ब्रतको कल्पना पनि गर्न सकिदैन्थ्यो। अल्लाहले भन्नु भएको छ… “तिमीहरु ब्रतको संख्या पूरा गर र सीधा मार्ग पाएकोमा अल्लाहको प्रशंसा गर। आशा छ तिमीहरु कृतज्ञ बन्नेछौ।” (श्रोत- सूरह अल्-बकरह : २/१८५)

ईदुल्-फित्रको दिन के गर्नु पर्छ?

  1. १) ईदको सलाह पढ्नु- इस्लामले पर्वको दिन स-परिवार सामुहिक रुपमा ईद-गाह (ईदको सलाह पढ्ने ठाउँ) गएर सलाह पढ्न प्रेरित गरेको छ। सूर्योदयको आधा घण्टापछि यसको समय आरम्भ हुन्छ र जुहर सलाहको आधा घन्टा पहिलेसम्म रहन्छ।

ईदको सलाह पढ्ने तरिका- ईदको सलाह दुई रकात हुन्छ, जसमा  इमामले जोडले सलाह पढाउनु हुन्छ र त्यसपछि धर्मोपदेश (खुत्बा) दिनुहुन्छ। अन्य सलाह भन्दा यसमा बढी तक्बीर “अल्लाहु अकबर” भन्नु पर्छ। पहिलो रकातमा तक्बीर तहरीमा बाहेक ६ पटक र दोश्रो रकातमा ५ पटक बढी भनेर सूर फातिहा पढ्नु पर्दछ।

  1. २) जकातुल्-फित्र (दान) दिनु- पर्वको खर्च भन्दा बढी खानेकुराहरु, जस्तै… गहुँ, चामल, दाल इत्यादि घरमा छ भने यस्तो व्यक्तिले गरीब र दीनदुःखीलाई इस्लामले तोके बमोजिम अनिवार्य रुपमा दान दिनु पर्दछ, ताकि हरेक मुस्लिमको घरदैलोमा पर्वको खुशियाली छाओस्, ओठमा मिठो मुस्कान होओस् र कसैको अगाडि भिखको लागि हात फैलाउन नपरोस्। अन्नको बदलामा आवश्यकता अनुसार रुपैया पनि दान दिन सकिन्छ।

यसको समय- रमजानको अन्तिम रातदेखि ईदको सलाहसम्म। ईद भन्दा एक दुई दिन पहिले पनि जकातुल्-फित्र दिन सकिन्छ।

यसको परिमाण- गाउँघरमा प्रयोग हुने खानेकुराहरु, जस्तै… गहुँ, चामल, दाल, खजुर आदिबाट एक साअ नापेर दिने। अर्थात किलोको हिसाबले प्रायः तीन किलो दान निकाल्नु पर्दछ।

घरको अभिभावकले आफ्नो र घरमा रहेको श्रीमती, भाइ-बहिनी तथा सम्पूर्ण बाल-बालिकाहरुको तर्फबाट त्यहाँको प्रचलित खानेकुराहरु प्रायः तीन किलो जकातुल्-फित्र दिनु पर्छ। गर्भमा रहेको शिशुको तर्फबाट दान दिनु अनिवार्य त होइन, तर उत्तम हो।

यसको उद्देश्य- रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले “ब्रतको अवस्थामा भएको नचाहिँदो कुरा तथा कमीकमजोरीलाई पूरा गर्न र गरीबहरुका छाक टार्नको लागि जकातुल्-फित्र अनिवार्य गर्नु भएको छ। जसले ईदको सलाह पूर्व दियो उसले जकातुल्-फित्र दियो र जसले ईदपछि दियो उसको सामान्य दान स्वरूप हुनेछ।” (श्रोत- अबु-दाऊद : १६०९)

  1. ३) खुशी बाँड्नु- पर्वको दिन ठूलो-सानो, पुरुष-महिला, आफ्नो-बिरानो सबैसँग खुशी बाँडेर हर्षोल्लासका साथ ईद मनाउनु पर्दछ। राम्रो, सुन्दर पोशाक लगाउनु र घर आँगनलाई झिलिमिली बनाउनु भनेको सुनमा सुगन्ध थप्नु हो। आजको दिन खाएर अल्लाहको उपासना गर्नु पर्दछ। ’cause पर्वको दिन ब्रत बस्नु अवैध छ।
  2. ४) तक्बीर पढ्नु- पर्वको चन्द्रमा देख्नसाथ रातिदेखि बिहान पर्वको सलाह नपढुन्जेल जोडले तक्बीर पढ्नु पर्दछ। ब्रत समाप्तिको खुशियाली र पूरा महिना ब्रत राख्न शक्ति दिनु भएकोमा अल्लाहको कृतज्ञता व्यक्त गर्नु पर्दछ। अल्लाहले भन्नु भएको छ… “तिमीहरु ब्रतको संख्या पूरा गर र सीधा मार्ग पाएकोमा अल्लाहको प्रशंसा गर। आशा छ तिमीहरु कृतज्ञ बन्नेछौ।” (श्रोत- सूरह अल्-बकरह : २/१८५)

तक्बीर पढ्ने तरिका- ‘अल्लाहु अकबर, अल्लाहु अकबर, ला ईलाहा इल्लल्लाहु, अल्लाहु अकबर, अल्लाहु अकबर, व लिल्लाहिल हम्द’।

तक्बीर पढ्ने अर्को तरिका- ‘अल्लाहु अकबर कबीरा, वल्-हम्दु लिल्लाही कसीरा व सुब्हानल्लाही बुक्रतु व असीला।

बाटोघाटोमा अरुलाई दिक्क नपारिकन पुरुषले ठूलो स्वरमा र महिलाहरुले सानो स्वरमा तक्बीर पढ्नु पर्दछ।