तौबा (प्रायश्चित)

तौबा (प्रायश्चित)

तौबाको अर्थ- अल्लाहतिर फर्केर आउनलाई तौबा (प्रायश्चित) भनिन्छ। जसले पनि आफ्नो पाप र कुफ्रको लंकालाई छोडेर साँचो मनले अल्लाहतिर फर्केर आँउछ भने उसले तौबा गर्यो भन्ने बुझिन्छ।

एउटा मानिसलाई जीवनको पाईला-पाईलामा तौबा र माफीको आवश्यकता पर्दछ, ’cause मानिसबाट प्राकृतिक रुपमा गल्ती हुन्छ, जहिले पनि गल्ती भयो भने अल्लाहसित माफी माग्नु र तौबा गर्नु पर्छ।

प्रभावकारी तौबाका शर्तहरु-

शिर्क, कुफ्र र अन्य पापहरुबाट तौबा (प्रायश्चित) गर्न केही शर्तहरु आवश्यक हुन्छन्, ती यस प्रकार छन्…

  1. १) पापलाई पूर्णरुपमा छोड्नु-

लगातार पाप गरिरहनुले तौबा मान्य हुँदैन। त्यसैले समस्त पापलाई पूर्ण रुपमा छोड्नु पर्दछ। यदि अन्जानमा फेरी केही गल्ती वा पाप गरियो भने पहिलेको तौबा भङ्ग हुँदैन तर तौबाको नवीकरण गर्नु पर्दछ।

  1. २) पुरानो पापमाथि पछुतो गर्नु-

तौबाको कल्पना त्यो व्यक्तिसित मात्र गर्न सकिन्छ, जसलाई आफूले गरेको पापमाथि पछुतो हुन्छ, तर जो कोही अरुसित आफ्नो पापको बखान गर्दै हिंड्छ वास्तवमा उसले पछुतो गरेको छैन। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “पछुतो गर्नु र लज्जित हुनु तौबा हो।” (श्रोत- इब्ने माजा : ४२५२)

  1. ३) आइन्दा नगर्ने दृढ संकल्प गर्नु-

तौबापछि पनि पापको दुनियाँमा फर्कने नीयत छ भने तौबा स्वीकृत हुँदैन।

दृढ संकल्पलाई साकार पार्ने पाइलाहरु-

  • जस्तो सुकै परिस्थिति र बाध्यता भए पनि पापको दुनियाँमा कहिल्यै पनि फर्किन्न दृढ संकल्प लिनु पर्छ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “जो व्यक्तिमा यी तीनवटा गुणहरु पाइन्छन् भने त्यसले ईमानको मिठास पायो; त्यसमध्ये एउटा व्यक्ति त्यो हो जो फेरी कुफ्र र अवज्ञामा फर्कन त्यसरी घृणा गर्छ जसरी आगोमा होमिनु।” (श्रोत- बुखारी : २१, मुस्लिम : ४३)
  • पापको अवसर दिने र ईमानलाई कमजोर पार्ने व्यक्ति र ठाउँदेखि टाढा बस्नु पर्दछ।
  • इस्लाममाथि मृत्युसम्म कायम रहन अल्लाहसित बढी दुआ गर्नु पर्छ, चाहे जुनसुकै भाषामा किन नहोस्। तीमध्ये कुरआन र हदीसका केही दुआहरु यस प्रकार छन्…
    • (रब्बना ला तुजिग् कुलुबना बा’द इज् हदैतना) अर्थ : “हे अल्लाह, सत्य मार्ग देखाएपछि कुबाटोतिर न मोड।” (श्रोत- सूरह आलि-इमरान : ३/८)
    • (या मुकल्लिबल् कूलूब ! सब्बित कल्बी अला दीनक्) अर्थ : “हे हृदयलाई फेर्नेवाला ! मेरो मनलाई तिमी आफ्नो धर्ममाथि स्थिर गरि देऊ।” (श्रोत- तिर्मिजी : २१४०)

तौबापछि के गर्नु पर्छ?

जुन बेला मानिसले स्वच्छ मनले तौबा गर्छ, अल्लाहले उसका सम्पूर्ण पापहरुलाई पखालि दिनुहुन्छ, चाहे त्यो जति सुकै ठूलो पाप किन नहोस्, किनकि उहाँको करुणा र दयाले हरेक वस्तुलाई घेरेको छ। अल्लाहले भन्नु भएको छ… “हे मेरा भक्तहरु ! जसले आफूमाथि अन्याय गरेको छ अल्लाहको कृपादेखि निराश नहोऊ, निश्चय नै अल्लाहले सम्पूर्ण पापहरु क्षमा दिनु हुनेछ। उहाँ अत्यन्त क्षमाशील तथा करुणामय हुनुहुन्छ।” (श्रोत- सूरह अज्-जुमर : ३९/५३)

साँचो तौबापछि एउटा मुस्लिम यसरी पापमुक्त हुन्छ, मानौं उसले कुनै पाप गरेको थिएन। बरु अल्लाहले उनीहरुमाथि एउटा अर्को उपकार गर्नुहुन्छ; त्यो के हो भने यिनीहरुका समस्त पापहरुलाई पुण्यमा परिणत गरी दिनुहुन्छ। अल्लाहले भन्नु भएको छ… “तर जसले प्रायश्चित गर्यो, ईमान ल्यायो र सत्कर्म गर्यो भने अल्लाहले उनीहरुका पापलाई पुण्यमा परिणत गरी दिनुहुन्छ। निश्चय नै उहाँ अत्यन्त क्षमाशील एवम् परम दयालु हुनुहुन्छ।” (श्रोत- सूरह अल्-फुर्कान : २५/७०)

जसले यस्तो सुवर्ण अवसर पाएको छ, उसले आफ्नो तौबालाई जसरी भएपनि शैतानको जालबाट सुरक्षित राख्न सचेत हुनुपर्दछ, चाहे त्यसको लागि जतिसुकै ठूलो मूल्य चुकाउनु परोस्।

ईमानको मिठास-

जसको मनमा अल्लाह र रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को जति माया र आदर हुन्छ, उसले त्यत्ति नै अल्लाहका सच्चा भक्तहरुलाई माया र आदर गर्दछ। जसरी आगोमा होमिनुलाई घृणा गर्छ, त्यसरी कुफ्र, शिर्क र पापको दुनियाँमा फर्कनुलाई घृणा गर्छ भने उसले ईमानको मिठास प्राप्त गर्यो। उसले आफूलाई अल्लाहदेखि नजिक पाउनेछ। अल्लाहको आदेश र पथप्रदर्शनको वरदानबाट मन सन्तुष्ट र आनन्दित हुनेछ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “जो व्यक्तिमा यी तीनवटा गुणहरु पाइन्छन् भने त्यसले ईमानको मिठास पायो। अल्लाह र उहाँको रसूलसित सबैभन्दा बढी माया गर्छ, अल्लाहकै लागि कसैसित माया गर्छ र कुफ्रबाट निस्केपछि फेरी त्यसमा जानु आगोमा होमिनु जस्तै घृणा गर्छ।”

जसरी आगोमा होमिनुलाई घृणा गर्छ त्यसरी नै कुफ्रको दुनियाँमा फर्किनुलाई घृणा गर्छ भने ईमानको मिठास प्राप्त हुन्छ।.