दया (रसूल को आदर्श जीवन र असल आचरणका केही झलकहरु)

रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को आदर्श जीवन र असल आचरणका केही झलकहरु

रसूल (सल्लल्लाहु अलैहि व सल्लम) सम्पूर्ण मानवमध्ये असल आचरणले परिपूर्ण हुनुहुन्थ्यो। .

कुरआन नै उहाँको आचरण हो- रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले मानव समाजको लागि एउटा अतुलनीय र उच्च स्वभाव प्रस्तुत गर्नु भयो। त्यसैले कुरआनले उहाँको असल व्यवहार र आदर्श जीवनलाई हाम्रो लागि अनिवार्य गरेको छ। उहाँको असल आचरणलाई वर्णन गर्दै उहाँकी श्रीमती आईशा (रजियल्लाहु अन्हा) भन्नु हुन्छ… “कुरआन नै उहाँको आचरण हो।”। अर्थात उहाँको व्यवहारिक जीवन नै कुरआनको पूर्ण व्याख्या र अनुपम शिक्षा हो।   

दया-

  • रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “दयावानहरुमाथि अल्लाहले दया गर्नुहुन्छ,  पृथ्वीमा रहेकाहरूमाथि दया गर, आकाशमा रहेकाले तिमीहरुमाथि दया गर्नु हुनेछ।” (श्रोत- तिर्मिजी : १९२४, अबु-दाऊद : ४९४१)

रसूल (सल्लल्लाहु अलैहि व सल्लम) का दयाका अनेकौं पक्षहरू छन्, केही यस प्रकार छन्…

बाल-बालिकाहरुसँगको माया–

  • एउटा गाउँलेले रसूल (सल्लल्लाहु अलैहि व सल्लम) सित सोध्यो… “के तपाईहरु आफ्ना बाल-बालिका   हरूलाई म्वाइँ खानु हुन्छ ? हामीले त यसरी कहिल्यै पनि माया गर्दैनौं, रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले जवाफ दिनु भयो… “अल्लाहले तिम्रो हृदयबाट माया झिकिदिनु भएको छ कि क्या हो ?” (श्रोत- बुखारी : ५६५२, मुस्लिम : २३१७)  

अर्कोले रसूल (सल्लल्लाहु अलैहि व सल्लम) लाई आफ्नो नातिलाई म्वाइँ खाँदै गरेको देख्यो र भन्यो… “अल्लाहले मलाई १० वटा सन्तान दिनु भएको छ,  तर मैले अहिलेसम्म एउटालाई पनि म्वाइँ खाएको छैन। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले जवाफ दिनु भयो… “जसले अरुलाई माया गर्दैन, ऊ सित पनि कोही माया गर्दैन।” (श्रोत- मुस्लिम : २३१८)

  • रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले एक दिन आफ्नी नातिनी; उमामा पुत्रि जैनबलाई बोकेर सलाह पढाउनु भयो। सज्दा गर्दा भुइँमा राख्नु हुन्थ्यो र उभिने बेला बोक्नु हुन्थ्यो।” (श्रोत- बुखारी : ४९४, मुस्लिम : ५४३)
  • उहाँ सलाह पढाउने क्रममा जब कुनै बच्चाको रुने-कराउने आवाज सुन्नु हुन्थ्यो भने सलाह छिटो-छिटो गरी पूरा गर्नु हुन्थ्यो। अबु-कतादह (रजियल्लाहु अन्हु) ले रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को भनाईलाई उद्रित गर्दै भन्नु भएको छ, उहाँले भन्नु भयो… “म यता सलाहलाई अलि लामो गर्ने सोचमा हुन्छु, उता बच्चाको रुने आवाज आउँछ, उसकी आमालाई अप्ठ्यारो नहोस् भनेर म अलि छिटो-छिटो सलाह पूरा गर्छु।” (श्रोत- बुखारी : ६७५, मुस्लिम : ४७०)

महिलाहरुसँगको माया-

रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले छोरीहरुको राम्रो रेखदेख र भद्र व्यवहार गर्न प्रेरित गर्नु भएको छ, उहाँले भन्नु भएको छ… “जसले आफ्नो छोरीहरुलाई राम्रो तरिकाले हुर्काई, बढाई राम्रो जीवन व्यवस्था मिलाई दिन्छ, उसको लागि ती छोरीहरु नरकका बाधक बन्नेछन्।” (श्रोत- बुखारी : ५६४९, मुस्लिम : २६२९)

रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले श्रीमतीको हकहित र मर्मलाई बुझि दिन र उनीहरुमाथि विशेष ध्यान दिन आदेश दिनु भएको छ… “महिलाहरुसित राम्रो व्यवहार गर।” (श्रोत- बुखारी : १९१०)

रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले आफ्नो घरपरिवारको साथ गर्नु भएको माया पुरै संसारबासीको लागि एउटा अनुपम उदाहरण हो। उहाँ ऊँटको नजिक बसेर घुँडा थाप्नु हुन्थ्यो र उहाँकी श्रीमती सफिया (रजियल्लाहु अन्हा) उहाँको घुँडामाथि आफ्नो खुट्टा टेकेर ऊँटमाथि चढ्नु हुन्थ्यो।” (श्रोत- बुखारी : २१२०) जब उहाँकी प्यारी छोरी फातिमा (रजियल्लाहु अन्हा) बुवासँग भेट्न आउने गर्थिन्, तब उसको हात थामेर चुम्नु हुन्थ्यो र आफू बसेको ठाउँमा बसाउनु हुन्थ्यो।” (श्रोत- अबु-दाऊद : ५२१७)

दीनदुःखीहरुसितको माया-

  • रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले टुहुरो (यतीम) लाई पालन-पोषण गर्ने प्रेरणा दिनु भएको छ। उहाँले भन्नु भएको छ… “म र टुहुरोलाई पालन-पोषण गर्ने व्यक्ति स्वर्गमा यसरी सँगै रहनेछौं। उहाँले चोर औंला र बीचको औंलालाई फटाएर संकेत गर्नु भयो।” (श्रोत- बुखारी : ४९९८)
  • रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले विधुवा र दीन-दु:खीहरुको हेरचाह गर्ने व्यक्तिलाई जिहाद गर्ने, दिउँसो ब्रत बस्ने र राति सलाह पढ्ने व्यक्ति बराबरको स्थान दिनु भएको छ।” (श्रोत- बुखारी : ५६६१, मुस्लिम : २९८२)
  • दीनदुःखीहरुमाथि दया गर्नु तथा उनीहरुको हक दिनुलाई रोजीमा अभिवृद्धि र शत्रुमाथि विजय प्राप्तिको कारण घोषित गर्दै भन्नु भएको छ… “मेरो लागि दीनदुःखीहरु खोजेर ल्याऊ, वास्तवमा तिमीहरु उनीहरुको कारणले विजयी हुनेछौ र रोजी पाइरहेका छौ।” (श्रोत- अबु-दाऊद : २५९४)  

जनावरहरुसितको माया-

  • रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले जनावरहरुसित दया गर्न, ’emको शक्ति भन्दा बढी भारी नबोकाउन तथा दु:ख नदिन आदेश दिनु भएको छ। उहाँले भन्नु भएको छ… “अल्लाहले हरेक कुराहरुमा सदव्यवहार गर्न आदेश दिनु भएको छ। जब तिमी मृत्युदण्ड दिन्छौ भने त्यसमा सदव्यवहार गर, जब जनावरहरु जबह गर्छौ भने सदव्यवहार गर र आफ्नो छुरीलाई धारिलो पार, ताकि जनावरलाई बढी पीडा नहोस्।” (श्रोत- मुस्लिम : १९५५)
  • एक जना सहाबीले कमिलाको बस्ती खरानी भएको देख्दा सोध्नु भयो… “कसले यसलाई आगो लगाएर खरानी बनायो ?” उनीहरुले जवाफ दिए… “हामीले नै त्यस्तो गर्यौ” फेरी उहाँले रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को भनाईलाई उद्रित गर्दै भन्नु भयो… “हामीले आगोद्वारा कसैलाई यातना दिनु हुँदैन, किनकि यो अल्लाहको लागि मात्र खास हो।” (श्रोत- अबु-दाऊद : २६७५)