प्रभावकारी आह्वानका गुणहरु (इस्लामको आह्वान)

अल्लाहले प्रभावकारी आह्वानका केही शर्तहरु बयान गर्नु भएको छ, तीमध्ये केही निम्न लिखित छन्…

  1. १) विवेक र परिज्ञान-

मार्गदर्शकले जुन कुराको आह्वान गरिरहेको छ त्यसको ’boutमा पूर्ण ज्ञान हुनुपर्छ र कोसँग कस्तो व्यवहार गर्नु पर्छ भन्ने ज्ञान हुनुपर्छ। अल्लाहले भन्नु भएको छ… “भनिदेऊ, मेरो मार्ग यही हो। म र मेरा अनुयायीहरु पूर्ण ज्ञान र चेतनशीलताका साथ अल्लाहतर्फ आह्वान गर्दछौं।” (श्रोत- सूरह यूसुफ : १२/१०८) अल्लाहले रसूल (सल्लल्लाहु अलैहि व सल्लम) लाई सम्बोधन गरेर हामीलाई पाठ सिकाउनु भएको छ कि पूर्ण ज्ञान र चेतनशीलताका साथ नै इस्लामको आह्वान गर्नु पर्छ।

ज्ञानको अर्थ यो पनि होइन कि सिङ्गो इस्लाम नसिकुन्जेल इस्लामतिर आह्वान गर्नु हुँदैन। बरु तपाईसँग जति ज्ञान छ, यहाँसम्म कि कुरआनको एक आयतको पनि ज्ञान छ भने त्यसको आह्वान गर्नु पर्छ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “इस्लामको तब्लीग (प्रचार-प्रसार) गर, चाहे इस्लामको एउटा कुरा किन नहोस्।” (श्रोत- बुखारी : ३२७४)

यसरी सहाबीहरु इस्लाम ल्याउने गर्थे अनि थोरै दिनहरुमा इस्लामका आधारभूत कुराहरु सिकेर आफ्नो समुदायमा फर्केर मानिसहरुलाई इस्लामतिर आह्वान गर्थे र इस्लाम आत्मसात गर्न प्रेरित गर्दथे। उनीहरुको असल आचरण र मिठो बोलीले मानिसहरु प्रभावित भएर लुरु-लुरु इस्लामलाई आत्मसात गर्थे।

  1. २­) बुद्धि र प्रभावकारी उपदेश-

अल्लाहले भन्नु भएको छ… “हे सन्देष्टा, अल्लाहको मार्गतिर बुद्धि र प्रभावकारी उपदेशद्वारा आह्वान गर र उनीहरुसँग राम्रो तरिकाले तर्क वितर्क गर।” (श्रोत- सूरह अन्-नहल : १६/१२५) अर्थात बुद्धि पुर्याएर स्थिति र स्थान अनुसार इस्लामतिर आह्वान गर्नु पर्दछ।

मानिसहरुको बिचार, सोच्ने र बुझ्ने शक्ति अलग-अलग हुन्छ। मार्गदर्शकले मौका अनुसार उपयुक्त साधन अपनाउनु पर्छ र समयको सदुपयोग उसको लागि अत्यन्तै प्रभावकारी हुन्छ।

निमन्त्रित व्यक्तिहरुलाई प्रभावकारी उपदेश दिनुका साथै नम्र व्यवहार, शान्त वातावरणमा तर्क वितर्क, उनीहरुको चित्त नदुखाइकन र रिसलाई उत्तेजित नगरिकन इस्लामतिर आह्वान गर्नु पर्छ। अल्लाहको यसै वरदानले गर्दा रसूल (सल्लल्लाहु अलैहि व सल्लम) मानिसहरुका साथ अत्यन्त विनम्र हुनुहुन्थ्यो। यदि कठोर र निर्दयी भएको भए मानिसहरु उहाँदेखि टाढा हुन्थे। अल्लाहले भन्नु भएको छ… “हे मुहम्मद ! तिमीले अल्लाहको अपार कृपाले नै उनीहरूप्रति उदार गरेका छौ। यदि तिमी क्रुर एवम् कठोर हृदयी भएको भए यिनीहरू तिम्रो वरिपरिबाट तितर-बितर हुने थिए।” (श्रोत- सूरह आलि-इमरान : ३/१५९)