अवैध पोशाकहरु-

  1. १) पारदर्शी पोशाक- मुस्लिमले आफ्ना अङ्गहरुलाई लुगाले छोप्नु अनिवार्य छ। अल्लाहले भन्नु भएको छ… “हे आदमका सन्तान हो ! हामीले तिमीहरुका लागि पोशाक अवतरण गरेका छौं। जसले तिमीहरु आफ्ना अङ्गहरुलाई छोप्दछौ।” (श्रोत- सूरह अल्-आ’राफ : ७/२६) पर्दाको सिमा- पुरुष र महिलाले आ-आफ्ना अङ्गहरुलाई कति सम्म छोप्नु पर्दछ भन्ने कुरालाई इस्लामले निर्धारित गरेको छ। पुरुषले नाँइटोदेखि घुँडा सम्म र महिलाले महरम बाहेकका पुरुषहरुको अगाडि अनुहार र हात बाहेक सम्पूर्ण शरीरलाई छोप्नु पर्छ। त्यसैले छोटो, कसिलो, निकै पातलो तथा अङ्गहरु देखिने पारदर्शी लुगाफाटा र पोशाकहरु कदापि लगाउनु हुँदैन। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले अङ्ग देखिने पारदर्शी कपडा लगाउनेहरुलाई नरकको धम्की दिनु भएको छ… “दुई प्रकारका मानिसहरु नरकमा जान्छन्; त्यसमध्ये एउटा, कपडा लगाए पनि नाङ्गै देखिने महिलाहरु हुन्।” (श्रोत- मुस्लिम : २१२८)
  2. २) विपरित लिङ्गीसँग मिल्दा-जुल्दा पोशाकहरु महिलाको लागि निर्धारित लुगाफाटा पुरुषले र पुरुषको लागि निर्धारित लुगाफाटालाई महिलाले प्रयोग गर्नु अवैध र महापाप हो। त्यसैगरी पुरुषले महिलाको वा महिलाले पुरुषको बोलाई, हिडाई र अन्य गतिविधिहरूलाई नक्कल गर्नु कदापि हुँदैन, किनभने रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले “यस्तो पुरुष र महिलालाई धिक्कार्नु भएको छ।” (श्रोत- अबु-दाऊद : ४०९८) त्यसैगरी रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले “एक अर्काको नक्कल गर्ने पुरुष र महिलालाई धिक्कार्नु भएको छ।” (श्रोत- बुखारी : ५५४६)   धिक्कारको अर्थ : अल्लाहको कृपाबाट पर हुनु हो, किनकि इस्लामले हरेकलाई एउटा छुट्टै पहिचान दिएको छ र हरेकले आफ्नै परिधिभित्र बस्नु नै प्रकृति र स्वच्छ बिचार अनुकूल पनि हो।
  3. ३) काफिरसित मिल्दा-जुल्दा पोशाकहरु, जस्तै… पूजारी, सन्यासी, पुरोहित, पादरीहरुका विशेष वस्त्र धारण गर्नु वा कुनै विशेष धार्मिक अर्थ बोकेका चिन्हहरु लगाउनु, जस्तै… घाँटीमा क्रुस वा जनै झुण्ड्याउनु वा टाउकोमा टुप्पी पाल्नु निषेध गरिएको छ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “जसले जुन समुदायको नक्कल वा अनुसरण गर्छ, ऊ तिनीहरुमध्ये हुन्छ।” (श्रोत- अबु-दाऊद : ४०३१) अनुसरणको तात्पर्य… धार्मिक विशेष गतिविधिहरुको अनुसरण गर्नु हो। किनभने यसले आत्मविश्वास र आस्था दुवैलाई ठूलो असर पार्दछ। यदि मुस्लिमले मुलुकमा प्रचलित त्यही पहिरन लगाउँछ जसलाई अधिकांश गैर-मुस्लिमहरुले पनि लगाउँछ भने यो अनुसरण अन्तर्गत पर्दैन, किनभने रसूल (सल्लल्लाहु अलैहि व सल्लम) पनि आफ्नो युगमा त्यही कपडा लगाउनु हुन्थ्यो, जुन मुश्रिक र काफिरहरु लगाउने गर्दथे, त्यसैले निषेधित पहिरन बाहेक जुनसुकै लुगा लगाउन सकिन्छ।
  4. ४) घमण्ड र अहमले ओतप्रोत पोशाकहरु- रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “जसको मनमा कण बराबर पनि अहम छ भने ऊ स्वर्गमा जान सक्दैन।” (श्रोत- मुस्लिम : ९१) त्यसैले इस्लामले लुगा भुँइमा लतारेर हिंड्नु वा पुरुषले गोलीगाँठो भन्दा मुनि लगाउनु निषेध गरेको छ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “अल्लाहले भुँइमा कपडालाई लतारेर हिंड्ने घमण्डी व्यक्तिलाई महाप्रलयको दिन कदापि हेर्नुहुन्न।” (श्रोत- बुखारी : ३४६५, मुस्लिम : २०८५) प्रतिष्ठाको पोशाक लगाउन मनाही गरेको छ- प्रसिद्ध हुने मनसायले अनौठो आकार र रङ्गले तयार पारिएको पोशाक लगाउनु अवैध छ, किनभने यसमा पनि अहम र घमण्ड लुकेको हुन्छ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “जसले यो दुनियाँमा प्रसिद्ध हुने खालको कपडा लगायो, अल्लाहले उसलाई कयामतको दिन अपमान गर्ने कपडा लगाई दिनु हुनेछ।” (श्रोत- अहमद : ५६६४, इब्ने माजा : ३६०७)
  5. ५) पुरुषको लागि शुद्ध रेशम वा सुनको पोशाक इस्लामले पुरुषहरुका लागि रेशम र सुनलाई निषेध गरेको छ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “सुन र रेशम पुरुषहरुका लागि अवैध छ, तर महिलाहरुका लागि वैध छ।” (श्रोत- इब्ने माजा : ३५९५, अबु-दाऊद : ४०५७) रेशमको अभिप्राय… रेशमको कीराद्वारा तयार पारिएको शुद्ध रेशम पुरुषको लागि अवैध गरिएको हो।
  6. ६) अनावश्यक र फजुलखर्च गरिएको पोशाक- रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “खाऊ, दान देऊ तथा राम्रो वस्त्र धारण गर तर त्यसमा घमण्ड र अनावश्यक खर्च नगर।” (श्रोत- निसाई : २५५९) यो मानिसको आर्थिक स्थिति र जिम्मेवारीमा भर पर्दछ, जस्तै… धनीले लगाउने महँगो कपडा गरीबले लगायो भने फजुलखर्च हुन्छ, किनकि दुवैको आयश्रोत र जिम्मेवारीमा आकाश र पातालको फरक हुन्छ। अत: एउटै लुगा धनीको हकमा पुण्य छ भने त्यही लुगा गरीबको हकमा पाप हुन सक्छ।