पुरुषको लागि महिलाका किसिमहरु-
पुरुषको लागि महिलाहरु यस प्रकार छन्…
- १) श्रीमती-
श्रीमानले श्रीमतीलाई र श्रीमतीले श्रीमानलाई हेर्न र वैध तरिकाले सम्पूर्ण प्रकारका आनन्द प्राप्त गर्न जायज छ। अल्लाहले श्रीमानलाई श्रीमतीको र श्रीमतीलाई श्रीमानको पहिरनको संज्ञा दिएर दुवैको शारीरिक र आध्यात्मिक सम्बन्धलाई अनौठो तरिकाले प्रस्तुत गर्नु भएको छ। अल्लाहले भन्नु भएको छ… “तिनीहरु तिम्रा पहिरन र तिमीहरु उनीहरुका पहिरन हौ।” (श्रोत- सूरह अल्-बकरह : २/१८७) (यस बारे अधिक जानकारीको लागि पृष्ठ न० १९६ हेर्नुहोस्)
- २) महरम-
ती महिलाहरु हुन्, जोसँग सदाको लागि विवाह गर्न अवैध छ। महरमहरु यस प्रकार छन्…
| 1 | आमा, हजुरआमा, जस्तै… आमाको आमा, बुवाको आमा वा यस भन्दा माथि। |
| 2 | छोरी, छोराको छोरी, छोरीको छोरी वा यस भन्दा तल। |
| 3 | दिदीबहिनी वा सौतेनी दिदीबहिनी। |
| 4 | फुपू, सौतेनी फुपू, यसरी नै आमा र बुवाका फुपूहरु। |
| 5 | सानीमा अर्थात आमाको बहिनी, यसरी नै आमा र बुवाका सानीमाहरु। |
| 6 | भतिजी, सौतेनी दाजुभाइको छोरी वा यस भन्दा तल, जस्तै… नातिनी। |
| 7 | भान्जी, सौतेनी दिदीबहिनीको छोरी वा यस भन्दा तल, जस्तै… नातिनी। |
| 8 | सासुआमा, श्रीमती साथमा होस् वा तलाक दिएको होस्, सासुआमा सदाको लागि अवैध छ, यसरी नै सासुआमाको आमा। |
| 9 | सौतेनी छोरी। |
| 10 | बुहारी वा यस भन्दा तल, जस्तै… छोराको छोराको श्रीमती। |
| 11 | सौतेनी आमा वा यस भन्दा माथि, जस्तै… बुवाको बुवाको श्रीमती। |
| 12 | दुधे-आमा, जन्मेदेखि दुई वर्षको अवधिमा पाँच चोटि पेट भरी दुध खुवाउने महिला। इस्लामले उनलाई दुधको नाताले आमाको दर्जा दिएको छ। |
| 13 | दुधे दिदी-बहिनी, दुधे आमाकी छोरी। दूधको नाताले ती सबै नाताहरु अवैध हुन्छन्, जसरी हाडनाताबाट अवैध हुन्छन्, जस्तै फुपू, सानीमा, दाजुभाइ र दिदीबहिनीका छोरीहरु। |
- ३) महरमबाहेकका महिलाहरु-
महरम बाहेकका महिलाहरु पुरुषको लागि पर स्त्रीहरू हुन्, चाहे नजिकको नातेदार होस् वा टाढाको, जस्तै… काका वा फुपूकी छोरी, मामा वा सानीमा (खाला) की छोरी, भाउजु वा परिवारका निकटतम स्त्रीहरू वा टाढाका स्त्रीहरू।
विश्वभर दिनदिनै बलात्कारका घटनाहरु बढ्दै गइरहेका कुरा विभिन्न पत्रपत्रिका, प्रतिवेदन र तथ्याङ्कबाट प्रष्ट हुन्छ। इस्लामदेखि टाढा भएका धेरै जसो समाज र घरपरिवारहरु यस्ता विकृतिले बर्बाद भएका छन्।
एउटा मुस्लिमले महरमबाहेकका महिलाहरुसित कस्तो सम्बन्ध राख्न सक्छ भन्ने कुरालाई मर्यादित गर्न इस्लामले विधि-विधान तोकेको छ। यसले इज्जत जोगाउन र शैतानका गोपनीय ढोकाहरुलाई बन्द गर्न ठूलो भूमिका निर्वाह गरेको छ, किनभने मानिसको लागि के राम्रो र के नराम्रो भन्ने कुराको पूर्ण ज्ञान अल्लाह बाहेक अरु कसलाई हुन सक्छ र ? अल्लाहले भन्नु भएको छ… “के सिङ्गो संसारको सृष्टिकर्तालाई त्यसको पूर्ण ज्ञान छैन ? उहाँ त सुक्ष्म दर्शी एवम् सुसूचित हुन्।” (श्रोत- सूरह अल्-मुल्क : ६७/१४)
