बहु विवाह

बिहे सम्बन्धी इस्लामको असल नियम के छ भने पुरुषले एउटै महिलासँग बिहे गर्नु पर्दछ, ताकि एक अर्कालाई माया गरुन् र सुखमय संसार बसाउन्। तर इस्लामले सामाजिक र व्यक्तिगत हकहितको लागि बहु विवाहलाई वैध गरेको छ जसरी अघिल्लो धर्महरुमा जायज थियो। तथापि बहु विवाहलाई बिना कुनै नियम छाडा छोडिएको होइन, बरु यसलाई कानूनको नत्थी लगाएर नियन्त्रित र मर्यादित गरिएको छ। नारीका सम्पूर्ण हकहितहरु सुरक्षित गरिएको छ। तिनीहरुमाथि हुने अन्याय, अत्याचार र दमनलाई रोकथाम गर्ने कडा शर्तहरु लगाइएका छन्। बहु विवाह गर्ने शर्तहरु यस प्रकार छन्…

  1. १- न्याय-

श्रीमतीहरु बीच भौतिक कुराहरूमा न्याय गर्नु पर्छ, जस्तै… निर्वाह-खर्च, शारीरिक सम्बन्ध इत्यादि र जसले श्रीमतीहरु बीच न्याय गर्न सक्दैन भने उसको लागि बहु विवाह अवैध छ। अल्लाहले भन्नु भएको छ… “यदि तिमीहरु (पत्नीहरू बीच) न्याय गर्न सक्दैनौ भने एउटीमा मात्र सीमित रह।” (श्रोत- सूरह अन्-निसा : ४/३) रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “जसको दुईवटा श्रीमतीहरु छन्, तर ऊ एकातिर झुक्छ भने महाप्रलयको दिन उसको शरीरको एकातिरको भाग झुकेको हुनेछ।” (श्रोत- अबु-दाऊद : २१३३)

तर आध्यात्मिक मायामा न्याय गर्नु अनिवार्य छैन, किनभने मुटुलाई नियन्त्रण गर्न सकिदैन र यही नै अल्लाहको भनाईको तात्पर्य हो। अल्लाहले भन्नु भएको छ… “तिमीहरूले चाहेर पनि पत्नीहरू बीच न्याय गर्न सक्दैनौ।” (श्रोत- सूरह अन्-निसा : ४/१२९)

  1. २- पत्नीहरूलाई निर्वाह-खर्च दिने क्षमता-

सम्पूर्ण श्रीमतीहरुका लागि निर्वाह-खर्च जुटाउने शक्ति हुनुपर्दछ। किनभने निर्वाह-खर्च पहिलो विवाहको लागि शर्त छ भने बहु विवाह गर्दा त झन् अनिवार्य छ। 

  1. ३- चार भन्दा बढी नहोस्-

इस्लाममा चार भन्दा बढी महिलाहरुसँग विवाह गर्न अवैध छ। अल्लाहले भन्नु भएको छ… “तिमीहरु आफूलाई मन परेकी स्त्रीहरुमध्ये दुई-दुई, तीन-तीन वा चार जनासँग बिहे गर, तर पत्नीहरु बीच न्याय गर्न न सक्ने डर छ भने एउटीमा मात्र सीमित रह।” (श्रोत- सूरह अन्-निसा : ४/३) यदि कसैले इस्लाम ग्रहण गरेको छ र ऊ सँग चार भन्दा अधिक पत्नीहरू छन् भने चार बाहेक बाँकीलाई अनिवार्य रुपमा तलाक दिनु पर्छ।

  1. ४- केही महिलाहरुलाई एकसाथ विवाह बन्धनमा राख्न अवैध छ-
  • श्रीमती र उसको दिदीबहिनी (साली) लाई एकसाथ वैवाहिक बन्धनमा राख्नु अवैध छ।
  • श्रीमती र उसको सानीमा (खाला) लाई एकसाथ वैवाहिक बन्धनमा राख्नु अवैध छ।
  • श्रीमती र उसको फुपूलाई एकसाथ वैवाहिक बन्धनमा राख्नु अवैध छ।