कृपया दान गरेर हाम्रो कामलाई निरन्तरता दिन र विकास गर्न मद्दत गर्नुहोस्। अल्लाहले तपाईँलाई इनाम दिनुहोस्।
रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को आदर्श जीवन र असल आचरणका केही झलकहरु
कुरआन नै उहाँको आचरण हो- रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले मानव समाजको लागि एउटा अतुलनीय र उच्च स्वभाव प्रस्तुत गर्नु भयो। त्यसैले कुरआनले उहाँको असल व्यवहार र आदर्श जीवनलाई हाम्रो लागि अनिवार्य गरेको छ। उहाँको असल आचरणलाई वर्णन गर्दै उहाँकी श्रीमती आईशा (रजियल्लाहु अन्हा) भन्नु हुन्छ… “कुरआन नै उहाँको आचरण हो।”। अर्थात उहाँको व्यवहारिक जीवन नै कुरआनको पूर्ण व्याख्या र अनुपम शिक्षा हो।
नम्रता-
- कसैले रसूल (सल्लल्लाहु अलैहि व सल्लम) लाई उभेर मान र सम्मान गरोस्, यो पनि उहाँलाई मन्जुर थिएन। उहाँ आफ्ना सहाबी (साथी) हरुलाई उभेर सम्मान गर्न रोक्नु हुन्थ्यो। त्यसैले उहाँका सहाबी (साथी) हरु उहाँलाई आएको देखेर उहाँको लागि उभिन चाहँदा-चाहँदै पनि बसेर नै उहाँलाई सम्मान गर्थे, किनकि उहाँको लागि उभिनु उहाँलाई कदापि मन पर्दैनथ्यो।” (श्रोत- अहमद : १२३४५, बज्जार : ६६३७)
- अरबको प्रतिष्ठित व्यक्ति हातिमको पुत्र अदी (रजियल्लाहु अन्हु) ले इस्लाम पूर्व रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को वास्तविकता जान्नको लागि उहाँसित भेट्नु भयो। उहाँको साथमा एउटी महिला र केही नानीहरु बसेका थिए। उहाँले रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को नम्रता र असल आचरण देखेर भन्नु भयो… उहाँ कोही रोम र इरानको राजा होइन, नम्रता सम्पूर्ण इश्दुतहरुको स्वभाव हो।” (श्रोत- अहमद : १९३८१)
- उहाँ आफ्ना साथीहरुसँग मिलेर बस्नु हुन्थ्यो। उहाँको लागि कुनै विशेष ठाउँ खास गरिएको थिएन। यहाँसम्म अपरिचित व्यक्तिलाई चिन्न गाह्रो हुन्थ्यो र सोध्नु पर्थ्यो… “तपाईहरुमध्ये मुहम्मद को हुनुहुन्छ ?” (श्रोत- बुखारी : ६३)
- अनस (रजियल्लाहु अन्हु) ले भन्नु भएको छ… “मदीनाकी एउटी दासीले रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को हात थामेर इच्छा अनुसार चाहेको ठाउँमा लाने गरेकी थिइन्।” (श्रोत- बुखारी : ५७२४) अर्थात… उहाँ कमजोर र स-साना बाल-बालिकाहरुको इच्छालाई पनि कदर गर्नु हुन्थ्यो। बिना कुनै भेदभाव दासीलाई पनि माया गर्नु हुन्थ्यो। यसमा उहाँको नम्रताको प्रमाण छ। महिला र दासी समाजका सबैभन्दा कमजोर पक्ष हुन् त्यसैले यसको विशेष उदाहरण दिएको छ।
- रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “जसको हृदयमा कण बराबर घमण्ड हुनेछ ऊ कदापि स्वर्गमा जान सक्दैन।” (श्रोत- मुस्लिम : ९१)

