सलाहका लागि चाहिने शर्तहरु के के हुन्?
- १. अपवित्रता तथा फोहोरबाट पवित्र हुनु- यसको व्याख्या अगाडि भैसकेको छ।
- २. पर्दा गर्नु (अङ्गहरुलाई छोप्नु)-
अङ्गहरुलाई छोप्नको लागि छोटो, कसिलो, पातलो र पारदर्शी लुगा होइन, बरु पूरै शरीरलाई छोप्ने खुकुलो र बाक्लो कपडा लगाउनु पर्दछ।
पर्दा तीन प्रकारका छन्-
महिलाको पर्दा- बालिग महिलाले सलाह पढ्दा अनुहार र हत्केलाबाहेक शिरदेखि पाऊसम्म पूरै शरीरलाई छोप्नु पर्छ।
बच्चाको पर्दा- मात्र गुप्ताङ्गहरुलाई छोप्नु पर्याप्त छ।
पुरुषको पर्दा- वयस्क पुरुषले नाईटोदेखि घुँडासम्म छोप्नु पर्छ।
अल्लाहले भन्नु भएको छ… “हे आदमका सन्तान हो ! तिमीहरू हरेक सलाहको बेलामा उत्तम श्रृङ्गार र राम्रो वस्त्र धारण गर।” (श्रोत- सूरह अल्-आ’राफ : ७/३१) गुप्ताङ्गहरुलाई छोप्नु सबैभन्दा कम श्रृङ्गार हो।
- ३. किब्लातिर मुख गर्नु-
अल्लाहले भन्नु भएको छ… “तिमी जहाँसुकैबाट निस्के पनि सलाहमा आफ्नो अनुहार मस्जिदे हराम (काबा) तिर फर्काऊ।” (श्रोत- सूरह अल्-बकरह : २/१४९)
- किब्ला- पवित्र काबा नै मुस्लिमहरुको किब्ला हो। यसलाई सन्देष्टाहरुको पुर्खा इब्राहीम (अलैहिस्सलाम) ले आफ्नै हातले निर्माण गर्नु भएको थियो। सन्देष्टाहरुले त्यही पवित्र काबाको हज्ज गरे, तर काबामा न फाइदा पुर्याउने शक्ति छ, न हानि पुर्याउने नै। अल्लाहले किब्लातर्फ मुख गरेर सलाह पढ्न आदेश दिनु भएको छ, ताकि विश्वकै सम्पूर्ण मुस्लिमहरु एउटा केन्द्रविन्दुमा केन्द्रित हुन सकौं। त्यसैले हामी काबातिर अनुहार गरेर अल्लाहको उपासना गर्छौं।
- काबालाई देखिरहेको छ भने त्यसै तर्फ मुख गर्नु अनिवार्य छ। यदि टाढा छ भने मक्कातिर अनुहार गर्नु नै पर्याप्त हुन्छ। अलिकति यताउता भएमा केही फरक पर्दैन। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “पूर्व र पश्चिमको बीचमा किब्ला छ।” (श्रोत- तिर्मिजी : ३४२)
- यदि रोग वा अशक्तले गर्दा किब्लातिर मुख गर्न असमर्थ छ भने उसले किब्लातिर मुख गर्नु पर्दैन, किनभने अशक्तलाई अनिवार्य कुराहरु पनि माफ हुन्छन्। अल्लाहले भन्नु भएको छ… “यथासम्भव अल्लाहसित डराऊ।” (श्रोत- सुराह तगाबुन : ६४/१६)
- ४. सलाहको समय हुनु-
समय हुनु सलाहको लागि शर्त नै हो। त्यसैले समय भन्दा पूर्व सलाह पढ्नु वा समयदेखि ढिलो गर्नु हुँदैन। अल्लाहले भन्नु भएको छ… “निश्चय नै आस्थावानहरूमाथि समयको पालनाका साथ सलाह अनिवार्य गरिएको छ।” (श्रोत- सूरह अन्-निसा : ४/१०३)
समय सम्बन्धी केही महत्वपूर्ण कुराहरू-
- समयको शुरुवातमा सलाह पढ्नु बेस हुन्छ।
- समयमै अनिवार्य रुपमा सलाह पढ्नु पर्दछ, नत्र पाप लाग्छ।
- निन्द्रा वा भूलचूकले गर्दा सलाह छोड्यो भने सम्झना हुने बित्तिकै ढिलो नगरिकन सलाह पढ्नु पर्दछ।
पाँच अनिवार्य सलाहहरु र त्यसका समयहरु
अल्लाहले मुस्लिमहरुमाथि दिनरातमा पाँच चोटि सलाह (नमाज) पढ्न अनिवार्य गर्नु भएको छ। यो इस्लामको ठूलो र अति महत्वपूर्ण आधार हो। यसको लागि निम्न लिखित समय तालिका तोकिएको छ…
फज्रको सलाह- यो दुई रकातको सलाह हो। प्रात: काल (फज्रको अजान) देखि यसको समय प्रारम्भ हुन्छ र सूर्य उदाउनुसम्म रहन्छ।
जुहरको सलाह- यो चार रकातको सलाह हो। यसको समय अपरान्हमा सूर्य ढल्केदेखि कुनै पनि वस्तुको छायाँ उसको बराबर हुन्जेलसम्म रहन्छ।
अस्रको सलाह- यो चार रकातको सलाह हो। यसको समय जुहरको समय समाप्त भएदेखि सूर्यास्तसम्म रहन्छ। सूर्यको ताप धमिलो तथा पहेंलो हुनु पूर्व नै यसलाई पढिसक्नु पर्छ।
मग्रिबको सलाह- यो तीन रकातको सलाह हो। यसको समय सूर्यास्तदेखि लिएर गोधुली साँझसम्म रहन्छ।
ईशाको सलाह- यो चार रकातको सलाह हो। यसको समय मग्रिबको समय समाप्त भएदेखि मध्य रातसम्म रहन्छ। कारणवश यसलाई प्रात: काल (फज्रको अजान) सम्म पढ्न सकिन्छ।



