सलाह पढ्ने ठाउँ
इस्लामले सामुहिक रुपमा जमातका साथ सलाह पढ्ने आदेश दिएको छ र यसको लागि मस्जिदलाई प्राथमिकता दिएको छ। यसो गर्दा एक आपसमा भाइचारा, माया, प्रेम, स्नेह तथा सदभाव पलाउँछ। एक अर्कालाई चिन्न, आपसमा दु:ख-पीडा बाँड्न अवसर पाइन्छ। त्यसैले जमातको सलाहलाई एक्लै पढेको सलाह भन्दा बढी पुण्य प्रदान गरिएको छ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “एक्लै नमाज पढ्नु भन्दा जमातका साथ पढ्दा २७ गुणा बढी सवाब (पुण्य) प्राप्त हुन्छ।” (श्रोत- बुखारी : ६१९, मुस्लिम : ६५०, अहमद : ५९२१)
अल्लाहले आफ्नो अपार कृपाले हरेक (पवित्र) ठाउँमा सलाह पढ्न वैध गर्नु भएको छ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “अल्लाहले सम्पूर्ण धरतीलाई मेरो र मेरो अनुयायीको निम्ति मस्जिद र पवित्र बनाउनु भएको छ। त्यसैले जुनसुकै ठाउँमा सलाहको समय हुन्छ, त्यही सलाह पढ।” (श्रोत- बुखारी : ३२८, मुस्लिम : ५२१)
सलाह पढ्ने ठाउँ सम्बन्धी नियमहरु-
इस्लामले सलाहको लागि ठाउँ पवित्र हुनुपर्छ भन्ने शर्त राखेको छ। अल्लाहले भन्नु भएको छ… “हामीले इब्राहीम र इस्माईलसित हाम्रो घरलाई तवाफ, एतिकाफ (आफूलाई मस्जिदमा सीमित राखेर गरिने एक प्रकारको उपासना), रुकू र सज्दा गर्नेहरूका लागि पवित्र राख्न वचन लियौं।” (श्रोत- सूरह अल्-बकरह : २/१२५) स्मरण रहोस् ! फोहोर नभएको जुनसुकै ठाउँमा सलाह पढ्न सकिन्छ, किनभने धरती वास्तवमा पवित्र नै हुन्छ।
सलाह पढ्ने ठाउँमा निम्न कुराहरुमा ध्यान पुर्याउनु पर्छ-
- १) कुनै ठाउँमा सलाह पढेर अरु कसैलाई दु:ख नदिनु, जस्तै… सडकको पेटी, सार्वजनिक बाटो र निषेधित क्षेत्रमा सलाह पढेर बाटो जाम गर्नु इत्यादि। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “जानेर वा नजानेर कसैलाई दु:ख दिनु हुँदैन।” (श्रोत- इब्ने माजा : २३४०, अहमद : २८६५)
- २) सलाह पढ्ने ठाउँमा भक्तलाई दिक्क पार्ने बाजा गाजाको आवाज वा ध्यान आकर्षित गर्ने कुनै तस्वीर नहोस्।
- ३) यस्तो ठाउँ नहोस् जहाँ सलाह पढ्दा मानिस ख्याल ठट्टाको पात्र बनोस्, जस्तै… जड्याहा र भेदभाव राख्नेहरु भएको ठाउँ। अल्लाहले काफिरहरुको देवीदेवतालाई गाली दिनुबाट यसै कारणले रोक्नु भएको छ कि तिनीहरु अज्ञानतावश अल्लाहलाई गाली नगरुन्। अल्लाहले भन्नु भएको छ… “यी अवज्ञाकारीहरुले अल्लाह बाहेक जसलाई पूज्य ठान्छन् त्यसलाई गाली नगर अन्यथा तिनीहरुले पनि सीमा उल्लंघन गर्दै अज्ञानतावश अल्लाहलाई गाली गर्ने छन्।” (श्रोत- सूरह अल्-अन्आम : ६/१०८)
- ४) त्यो ठाउँ अल्लाहको अवज्ञाको लागि नबनाइएको होस्, जस्तै… नाचघर, डिस्को, बियर, बार इत्यादि। यस्ता ठाउँहरुमा सलाह पढ्नु हुँदैन।
सलाह पढ्ने ठाँऊ
- के तपाई जमातको साथ मस्जिदमा सलाह पढ्न सक्नु हुन्छ?
- हो- => पक्कै पनि पुरुषले मस्जिदमा गएर जमातको साथमा सलाह पढ्नु पर्छ। यो अल्लाहको नजरमा महान र प्रिय सत्कर्म हो। महिला पनि मस्जिदमा गएर सलाह पढ्न सक्छिन्।
- होइन- => मस्जिदमा पढ्न सक्नु भएन भने के अन्य ठाउँ अपवित्र हो र?
- हो- => अपवित्र ठाउँमा सलाह पढ्नु अवैध (हराम) छ। अल्लाहले सलाहको लागि पवित्रतालाई अनिवार्य गर्नु भएको छ।
- होइन- => होइन… यदि ठाउँ पवित्र छ भने त्यसमा सलाह पढ्दा अरुलाई अप्ठ्यारो त हुँदैन? जस्तै… सार्वजनिक बाटो।
- हो- => मानिसलाई दु:ख दिनु वा सलाह पढेर बाटोलाई सांघुरो पार्नु हराम हो, त्यसैले अर्को ठाउँ रोज्नुहोस्।
- होइन- => होइन… के सलाह पढ्ने ठाउँमा मानिसको ध्यान अर्कोतिर अल्झाउने कुनै तस्वीर वा ठूलो आवाज त छैन?
- हो- => ध्यान अल्झाउने सम्पूर्ण कुराबाट टाढा भएर सलाह पढ्नु पर्छ।
- होइन- => अल्लाहले आफ्नो कृपाले सम्पूर्ण ठाउँलाई सलाह पढ्न योग्य बनाउनु भएको छ।


