अल्लाहमाथि आस्थाको अर्थ-

अल्लाहको अस्तित्वमाथि दृढतापूर्वक आस्था राख्नु, उहाँ नै हाम्रा प्रभु र पूज्य हुन् भन्ने कुरामाथि विश्वास गर्नु तथा उहाँका नाम र विशेषताहरुलाई स्वीकार्नु।  

यी चारै कुराहरुको बारेमा विस्तृतरुपमा तल वर्णन गर्नेछौं…

  1. १- अल्लाहको अस्तित्वमाथि आस्था राख्नु-

अल्लाहको प्रकृति-

अल्लाहको अस्तित्वमाथि विश्वास गर्नु स्वभाविक कुरा हो। जसको लागि कुनै तर्क ल्याउनु पर्दैन, किनभने जन्मजात नै मानिसको अन्तरात्मामा उहाँमाथिको विश्वास पलाएको हुन्छ। त्यसैले विभिन्न धर्मावलम्बीका अधिकांश मानिसहरु अल्लाहको अस्तित्वलाई स्वीकार गर्दछन्।

हामी मुटुको गहिराईदेखि उहाँको अस्तित्वलाई महसुस गर्दछौं। आपत-बिपतमा उहाँलाई नै गुहार्ने गर्दछौं, किनकि यो नै प्राकृतिक र धार्मिक प्रेरणा हो जुन हरेक व्यक्तिको प्राणमा अडेको हुन्छ। उहाँको अस्तित्वलाई मेटाउने र खत्तम गर्ने प्रयास नगरिएको पनि होइन, तै पनि तिनीहरु सदैव असफल नै रहे।

शोषित र ब्याकुलको पुकार सुनिएको, माग्नेको माग पूरा भएको तथा पिडितको पीडा हरण भएका कुराहरु हामी देख्छौं र सुन्छौं। के यो उहाँको अस्तित्वको ठूलो प्रमाण होइन र ?

अल्लाहको अस्तित्वका प्रमाणहरु प्रष्ट र अगन्य छन्। तीमध्ये केही यस प्रकार छन्…

अल्लाहका निशानीहरुमा मनन गर्नेहरुका लागि मानिसको सर्वश्रेष्ठ सृष्टि, सुव्यस्थित तरिका र पूर्णता नै उहाँको अस्तित्वको ठूलो प्रमाण छ। अल्लाहले भन्नु भएको छ… “विश्वास गर्ने मानिसहरुका लागि धरती र स्वम् आफैंमा धेरै निशानीहरु छन्। के तिमीहरु देख्दैनौ?”

  • हावा नचलिकन पात हल्लिदैन भन्ने कुरा सबैलाई थाहा नै छ। अनगिन्ति प्राणी र जीवजन्तुहरुले खचाखच रहेको यो संसारलाई पक्कै पनि कुनै ईश्वरले नै सृष्टि गरेको हुनुपर्छ। उहाँ नै अल्लाह हुन्, किनकि आजसम्म निर्माण नगरिकन निर्माण भएको, सृष्टि नगरिकन सृष्टि भएको वा प्राणीले आफैं आफूलाई सृष्टि गरेको कुरा न सुनिएको छ, न देखिएको नै। अल्लाहले भन्नु भएको छ… “के यिनीहरुको सृष्टि बिना आधार नै भएको हो ? वा यिनीहरु स्वयम् सृष्टिकर्ता हुन् ?” (श्रोत- सूरह अत्तूर : ५२/३५) अर्थात बिना सृष्टिकर्ता न यिनीहरुको सृष्टि भएको छ, न यिनीहरु आफैंले आफूलाई सृष्टि गरेका छन्। अत: अल्लाह नै सृष्टिकर्ता हुन् भन्ने कुरा छर्लङ्ग हुन्छ।
  • यो निलो आकाश, विशाल धरती, वायुमण्डल, नक्षत्र, जुनतारा, विभिन्न प्रकारका बोटबिरुवा र संसारको सुव्यवस्थित कानून चिच्याएर भनिरहेका छन्… यो संसारको ईश्वर एउटै हो, जसलाई हामी अल्लाह भनेर चिन्दछौं। अल्लाहले भन्नु भएको छ… “यो अल्लाहको सृष्टि हो, जसले प्रत्येक चीजलाई सुदृढ तुल्याउनु भएको छ।” (श्रोत- सूरह अन्-नमल : २७/८८) यी नक्षत्र र ताराहरु सुव्यवस्थित नियमबद्धरुपमा आ-आफ्नो परिधिभित्र अन्तरिक्षमा गतिशील छन्। न कोही कसैलाई पछ्याउँछ न एक अर्का भन्दा अगाडि जान्छ। अल्लाहले भन्नु भएको छ… “न सूर्यले चन्द्रमालाई समात्न सक्छ न रातले दिनलाई उछिन्न सक्छ। तिनीहरु सबै अन्तरिक्षमा निरन्तर गतिशील छन्।” (श्रोत- सूरह यासीन : ३६/४०)