इस्लाममा आचरणका विशेषताहरु
इस्लाममा असल आचरणले जुन विशेषता र गुणहरु ओगटेको छ, त्यो अन्य धर्महरुमा बिरलै पाइन्छ, तीमध्ये केही यस प्रकार छन्…
- १- असल आचरण कुनै विशेष व्यक्तिमा सीमित छैन-
अल्लाहले नै मनिसहरुलाई विभिन्न रुप, रङ्ग र अनगिन्ती भाषाहरु दिएर सृष्टि गर्नु भएको छ। अल्लाहको दृष्टिमा न कोही ठूलो छ, न कोही सानो नै, सबै समान छन्। जसको आस्था र स्वभाव उच्च कोटिको हुन्छ, ऊ नै अल्लाहको नजरमा महान र प्रतिष्ठित हुन्छ। अल्लाहले भन्नु भएको छ… “हे मानव ! हामीले तिमीहरुलाई एक पुरुष र एक स्त्रीबाट सृष्टि गर्यौं र तिमीहरुका विभिन्न जाति-बंश बनायौं, ताकि तिमीहरु एक अर्कालाई चिन्न सकौ। वास्तवमा अल्लाहको नजरमा सर्वाधिक प्रतिष्ठित व्यक्ति त्यो हो, जो तिमीहरुमध्ये सबैभन्दा धेरै ईश-भय राख्छ।” (श्रोत- सूरह अल्-हुजरात : ४९/१३)
असल आचरण नै मुस्लिमको पहिचान हो। इस्लाममा धनी-गरीब, ठूलो-सानो, गोरो-कालो र अरबी-गैर-अरबी बीच कुनै भेदभाव, छुवाछुत र घृणा हुँदैन।
गैर-मुस्लिमसितको व्यवहार-
अल्लाहले हामीहरुलाई मुस्लिम, गैर-मुस्लिम, परिचित, अपरिचित मानिस, जनावर तथा सम्पूर्ण प्राणीहरुसँग भद्र व्यवहार र परोपकार गर्ने आदेश दिनु भएको छ, किनभने मुस्लिमको असल आचरणले नै गैर-मुस्लिमहरु इस्लामतिर लम्की रहेका छन्।
अल्लाहले भन्नु भएको छ… “जसले तिमीहरूसित धर्मको मामिलामा युद्ध गरेनन् र तिमीहरुलाई घरबाट निस्कासन गरेनन्, त्यस्ता व्यक्तिहरुसित भद्र व्यवहार र न्याय गर। अल्लाह न्याय गर्नेहरुलाई मन पराउनु हुन्छ।” (श्रोत- सूरह अल्-मुम्तहिना : ६०/८)
अल्लाहले गैर-मुस्लिमको मित्रता, उनीहरुको कुफ्र र शिर्कको आस्थासित प्रेम गर्नुबाट मनाही गर्नु भएको छ। अल्लाहले भन्नु भएको छ… “अल्लाहले त यस्ता व्यक्तिहरूसित मित्रता गर्न रोक्नु हुन्छ, जसले तिमीहरुसँग धर्मको लागि युद्ध गरे, तिमीहरुलाई तिमीहरुको घर दैलोबाट निस्कासन गरे र तिमीहरुको निष्कासन कार्यमा शत्रुको सहयोग गरे। तिनीहरुसित मित्रता गाँस्ने व्यक्तिहरु नै अत्याचारी हुन्।” (श्रोत- सूरह अल्-मुम्तहिना : ६०/९)
- २- असल आचरण मात्र मानिससित सीमित छैन
जनावरसितको व्यवहार-
इस्लामले असल आचरण मानिससित मात्र सीमित नराखी जनावरप्रति देखाउन आदेश दिएको छ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले बिरालो मार्नेलाई नरकको चेतावनी र कुकुरसित असल व्यवहार गर्नेलाई स्वर्गको शुभ सुचना दिनु भएको थियो। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “एउटी महिला बिरालोप्रति गरेको नराम्रो व्यवहारले गर्दा नरकमा गइन्। ती महिलाले बिरालोलाई बाँधेर राखिन्, न त त्यसलाई खानेकुरा दिइन्, न त स्वतन्त्र गरिन्।” (श्रोत- बुखारी : ३१४०, मुस्लिम : २६१९)
रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “एउटा यात्रीलाई बाटोमा हिंडिरहेको बेला धेरै तिर्खा लाग्यो। उसले बल्ल एउटा कुँवा भेटायो र तल झरेर आफ्नो तिर्खा मेटायो। बाहिर निस्कने बित्तिकै तिर्खाले माटो खाइरहेको एउटा कुकुरलाई देख्यो र मनमा सोच्न थाल्यो… सायद, यो कुकुरलाई पनि मलाई जस्तै बेस्सरी तिर्खा लागेको होला। ऊ पुनः कुँवामा झर्यो र छालाको मोजामा पानी भरी त्यसलाई मुखमा च्यापेर बल्ल तल्ल बाहिर ल्याएर कुकुरलाई पिलायो र अल्लाहको कृतज्ञता व्यक्त गर्यो र अल्लाहले उसका सम्पूर्ण पापहरुलाई पखालि दिनु भयो। सहाबीहरुले सोधे… के जनावरहरुप्रति गरिएका सद-व्यवहारमा पनि पुण्य पाइन्छ र ? उहाँले जवाफ दिनु भयो… “प्रत्येक प्राणीहरुप्रति असल व्यवहारमा पुण्य पाइन्छ।” (श्रोत- बुखारी : ५६६३, मुस्लिम : २२४४)
पर्यावरणलाई सुरक्षित राख्नमा आचरणको भूमिका-
इस्लामले हामीलाई भूमि निर्माण एवम् विकास कार्य गर्न, वृक्ष रोपण र सभ्यता निर्माण गर्न आदेश दिएको छ। तर सम्पूर्ण मानव, जनावर, वनस्पति, वातावरण तथा पर्यावरणलाई विनाश नगरिकन नै उक्त विकासका कार्य गर्नु पर्दछ, किनभने अल्लाहले आतंक मच्चाउनु वा वातावरणलाई विनाश गर्नुलाई कदापि मन पराउनु हुन्न। अल्लाहले भन्नु भएको छ… “अल्लाह दंगा-फसाद र आतंकलाई कदापि मन पराउनु हुन्न।” (श्रोत- सूरह अल्-बकरह : २/२०५)
यहाँसम्म कि रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले कठिन परिस्थितिमा पनि भूमि निर्माणमा सक्रिय रहने आदेश दिनु भएको छ… “बोट बिरुवा तथा बीउ रोपण गर्दा-गर्दै कयामत (महाप्रलय) भयो भने पनि सकेसम्म वृक्ष रोपण गर्नु पर्दछ, ताकि यो उसको लागि पुण्य साबित होस्।” (श्रोत- अहमद : १२९८१)
- ३- जीवनका सम्पूर्ण क्षेत्रहरुमा असल आचरण-
घरपरिवार-
इस्लामले परिवारका सम्पूर्ण सदस्यहरुसँग भद्र व्यवहार गर्न प्रेरणा दिएको छ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भयो… “तिमीहरुमध्ये प्रतिष्ठित व्यक्ति ऊ हो, जो आफ्नो घरपरिवारसँग भद्र व्यवहार गर्दछ र म पनि आफ्नो घरपरिवारसित भद्र व्यवहार गर्दछु।” (श्रोत- तिर्मिजी : ३८९५)
- रसूल (सल्लल्लाहु अलैहि व सल्लम) संसारकै सर्वश्रेष्ठ व्यक्ति हुन्, तथापि उहाँ आफ्नो परिवारलाई घरेलु कामहरुमा सघाउनु हुन्थ्यो। उहाँकी श्रीमती आईशा (रजियल्लाहु अन्हा) ले बयान गर्नु भएको छ… “उहाँ घरेलु काम-काजमा आफ्नो परिवारलाई सघाउनु हुन्थ्यो।” (श्रोत- बुखारी : ५०४८)
- उहाँ आफ्नो परिवारसँग ख्याल-ठट्टा पनि गर्नु हुन्थ्यो। आईशा (रजियल्लाहु अन्हा) ले भन्नु भएको छ… “एउटा यात्रामा म उहाँको साथमा थिएँ, त्यतिबेला म सानै नै थिएँ, मेरो शरीर दुब्लो र पातलो थियो। उहाँले आफ्ना साथीहरुलाई “तिमीहरु अघि बढ्दै जाऊ, भन्नु भयो र उनीहरु अगाडि बढ्दै रहे। त्यसपछि मलाई भन्नु भयो… “आऊ, हामी दौडमा प्रतिस्पर्धा गरौं र दौड्दा-दौड्दै म नै विजेता भएँ। धेरै दिनपछि फेरी एक पटक उहाँको साथमा यात्रामा निस्कने मौका पाएँ। त्यतिबेला म अलि मोटी भएकी थिएँ। फेरी पनि उहाँले दौडमा प्रतिस्पर्धा गर्ने कुरा गर्नु भयो र हामी दौड्यौं तर यस पाली म हारें। उहाँले हाँस्दै भन्नु भयो… मन सानो नगर, यो त्यसको बदला हो। तब मलाई प्रथम दौडको सम्झना भयो।” (श्रोत- अहमद : २६२७७)
व्यापार–
कहिले काही उद्योगपति र व्यापारीहरु धन-सम्पत्तिको लोभमा अवैध र अनैतिक काम पनि गर्छन्। त्यसलाई रोक्नको लागि इस्लामले असल आचरणका केही सिद्धान्तहरु लागू गरेको छ…
- इस्लामले नाप-तौलमा कमी गर्नु वा धोका दिनु अवैध गरेको छ। अल्लाहले भन्नु भएको छ… “नाप-तौलमा घटाएर दिनेहरु सर्वनाश होऊन्, मानिसहरुबाट लिदा पूरा-पूरा लिन्छन्, तर उनीहरुलाई तौलेर दिदा कम दिन्छन्।” (श्रोत- सूरह अल्-मुताफ्फिफीन : ८३/१-३)
- किनबेचमा क्रेता र बिक्रेता दुवैलाई सहनशीलता र नम्रता अपनाउन उत्साहित गरेको छ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “जुन व्यक्तिले किनबेच वा पैसा लेन-देन गर्ने क्रममा नम्रता र सहनशीलता अपनाउँछ, अल्लाहले उसलाई माया गर्नुहुन्छ।” (श्रोत- बुखारी : १९७०)
व्यवसाय-
इस्लामले उद्योगपति तथा व्यवसायीहरुलाई व्यवहारिक र गुणस्तर कामको प्रेरणा दिन्छ, जस्तै…
- कुशलतापूर्वक र गुणस्तर वस्तु उत्पादित गर्नु, रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “कुशलतापूर्वक गरिएको कामलाई अल्लाहले धेरै मन पराउनु हुन्छ।” (श्रोत- अबु-याला : ४३८६, बैहिकी फि शुओबिल-ईमान : ५३१३)
- ग्राहकहरूसँग गरेको वाचा अनुसार काम पूरा गर्नु, रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “छलकपटीका तीन पहिचानहरु छन्; एउटा… वाचा पूरा नगर्नु ।” (श्रोत- बुखारी : ३३)
- ४- असल आचरण सम्पूर्ण अवस्थाहरुमा-
इस्लामले कठिन परिस्थितिमा पनि असल आचरण र उच्च व्यवहारसँग सम्झौता नगरी त्यसैमा अडिग रहन आदेश दिएको छ। यहाँसम्म कि युद्धको मैदान र द्वन्द्वको बेलामा पनि असल आचरणलाई नै प्राथमिकता दिन आदेश दिएको छ, किनकि कुनै पनि उद्देश्य वा स्वार्थको लागि अवैध साधन कदापि प्रयोग गर्नु हुँदैन।
त्यसैले इस्लामले असल आचरणका यस्ता नियम र सिद्धान्तहरु पारित गरेको छ, जसले मुस्लिमहरुको क्रियाकलापलाई युद्धको बेलामा पनि अनुशासित गरेको छ। मानिसको रिस, घृणा, डाह, कठोरता र मनमानी गर्ने कुनै ठाउँ नै छैन।




