इस्लाममा घरपरिवारको स्थान
इस्लामले घरपरिवारलाई दिएको प्राथमिकता निम्न बुँदाहरुबाट प्रष्ट हुन्छ-
- १) इस्लामले विवाह गर्न र सुन्दर संसार बसाउन हौसला प्रदान गरेको छ। यसलाई महान सत्कर्म र रसूलहरुको तरिका भनेको छ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “म कहिले ब्रत बस्छु र कहिले बस्दिनँ, राति सलाह पढ्छु र आराम पनि गर्छु अनि म बिहे पनि गर्छु। मेरो तरिकाबाट जो विमुख हुन्छ त्यो हामीमध्येको होइन।” (श्रोत- बुखारी : ४७७६, मुस्लिम : १४०१)
- श्रीमान र श्रीमती बीचको साँचो प्रेम, एक अर्कालाई दिने सुख र सन्तुष्टिलाई कुरआनले अमूल्य वरदान र निशानी घोषित गरेको छ। अल्लाहले भन्नु भएको छ… “अल्लाहका निशानीहरुमध्ये यो पनि हो कि उहाँले तिमीहरूका लागि तिमीहरुकै सहजताबाट तिमीहरुका जीवनसाथी बनाउनु भयो, ताकि तिमीहरु तिनीहरूबाट सन्तुष्टि प्राप्त गर र तिमीहरू बीच उहाँले प्रेम उत्पन्न गर्नु भयो।” (श्रोत- सूरह अर-रूम : ३०/२१)
- विवाहलाई सरल बनाउन र जो विवाह गरेर आफ्नो इज्जत जोगाउन चाहन्छ उसलाई सहयोग पुर्याउन आदेश दिएको छ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “तीन किसिमका मानिसहरुलाई अल्लाहले सघाउनु हुन्छ। त्यसमध्ये एउटा; बिहे गर्ने व्यक्ति, जो आफ्नो इज्जत जोगाउन चाहन्छ।” (श्रोत- तिर्मिजी : १६५५)
- युवा-युवतीहरूलाई विवाह गर्न आदेश दिएको छ, किनभने विवाहपछि वैवाहिक जीवनको शान्ति र सन्तुष्टि मिल्छ र वैध यौन जीवनको बाटो खुल्छ।
- २) इस्लामले घरपरिवारका प्रत्येक सदस्यलाई आत्मसम्मान प्रदान गरेको छ, चाहे पुरुष होस् वा महिला…
इस्लामले बालबालिकाको शिक्षा-दिक्षा र गतिलो संस्कारको महान जिम्मेवारी आमा-बुवालाई सुम्पेको छ। उमर-पुत्र अबदुल्लाह (रजियल्लाहु अन्हुमा) भन्नु हुन्छ, मैले रसूल (सल्लल्लाहु अलैहि व सल्लम) लाई यी कुराहरु भन्दै गरेको सुनेको थिएँ… “तिमीहरु सबै जिम्मेवार व्यक्ति हौ र तिमीहरु आफ्नो जिम्मेवारीप्रति सोधिनेछौ, मुस्लिमको इमाम (हाकिम) सम्पूर्ण मुस्लिमहरुको जिम्मेवार व्यक्ति हो र ऊ सित उसको जिम्मेवारीप्रति सोधिनेछ, पुरुष आफ्नो घरको अभिभावक हो र ऊ सित उसको जिम्मेवारीप्रति सोधिनेछ, श्रीमती आफ्नो श्रीमानको घरको जिम्मेवार हुन् र उनीसित उनको जिम्मेवारीप्रति सोधिनेछ, नोकर मालिकको धन-सम्पत्तिको जिम्मेवार व्यक्ति हो र ऊ सित उसको जिम्मेवारीप्रति सोधिनेछ।” (श्रोत- बुखारी : ८५३, मुस्लिम : १८२९)
- ३) इस्लामले आमा-बुवालाई सम्मान र सत्कार दिनका साथै उनीहरुको आज्ञापालन र हेरचाह गर्न सधैं तयार रहने आदेश दिएको छ…
छोरा-छोरी जति सुकै ठूलो भए पनि उनीहरुले आमा-बुवाको आज्ञापालन र उनीहरुसित भद्र व्यवहार गर्नु पर्छ। किनभने उनीहरुको आज्ञापालनलाई आल्लाहको उपासनासँग गाँसिएको छ। उनीहरुको कुरा काट्नु, उनीहरुसित ठूलो स्वरले बोल्नु वा हप्काउनु त परै जाओस्, उनीहरुलाई उफ भन्नसमेत अवैध गरिएको छ। अल्लाहले भन्नु भएको छ… “तिम्रो ईश्वरले निर्णय गर्नु भएको छ कि मात्र उहाँको उपासना गर र माता-पितासँग भद्र व्यवहार गर। उनीहरूमध्ये एक वा दुवै बुढेसकालमा पुगेका छन् भने उनीहरुलाई उफ पनि नभन, उनीहरुलाई नहप्काउ बरु उनीहरूसित आदरपूर्वक कुरा गर।” (श्रोत- सूरह बनी-इस्राइल : १७/२३)
- ४) सन्तानको हक अधिकारलाई सुरक्षित राख्न अनि उनीहरूको आय-व्ययलगायत सम्पूर्ण कुराहरुमा न्याय-निसाफ गर्न आदेश दिएको छ।
- ५) साइनोलाई बलियो र गाढा बनाउनु अनिवार्य छ, चाहे त्यो आमा पट्टिको होस् या बुवा पट्टिको, जस्तै…
दाजु-भाइ, दिदी-बहिनी, काका, फुपू, मामा, सानिमा र उनीहरुका सन्तानहरु। इस्लामले यसलाई ठूलो सत्कर्म र साइनो तोड्न वा उनीहरूसँग नराम्रो व्यवहार गर्नलाई ठूलो पाप घोषित गरेको छ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “साइनो तोड्ने स्वर्गमा कदापि प्रवेश गर्न सक्दैन।” (श्रोत- बुखारी : ५६३८, मुस्लिम : २५५६)


