कृपया दान गरेर हाम्रो कामलाई निरन्तरता दिन र विकास गर्न मद्दत गर्नुहोस्। अल्लाहले तपाईँलाई इनाम दिनुहोस्।
रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को आदर्श जीवन र असल आचरणका केही झलकहरु
कुरआन नै उहाँको आचरण हो- रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले मानव समाजको लागि एउटा अतुलनीय र उच्च स्वभाव प्रस्तुत गर्नु भयो। त्यसैले कुरआनले उहाँको असल व्यवहार र आदर्श जीवनलाई हाम्रो लागि अनिवार्य गरेको छ। उहाँको असल आचरणलाई वर्णन गर्दै उहाँकी श्रीमती आईशा (रजियल्लाहु अन्हा) भन्नु हुन्छ… “कुरआन नै उहाँको आचरण हो।”। अर्थात उहाँको व्यवहारिक जीवन नै कुरआनको पूर्ण व्याख्या र अनुपम शिक्षा हो।
न्याय-निसाफ-
- रसूल (सल्लल्लाहु अलैहि व सल्लम) अत्यन्तै न्यायी हुनुहुन्थ्यो। अल्लाहको आदेश अनुसार आफ्नो-बिरानो हरेकसँग न्याय-निसाफ गर्नु हुन्थ्यो। अल्लाहले भन्नु भएको छ… “हे आस्थावानहरु हो ! निसाफ कायम गर्नेवाला र अल्लाहका लागि साक्षी बक्नेवाला बन, यद्यपि त्यो स्वयम् तिमीहरु, तिम्रा आमा-बाबु वा नातेदारहरुकै विरुद्धमा किन नहोस्।” (श्रोत- सूरह अन्-निसा : ४/१३५)
- केही सहाबीहरुले चोरीको अपराधमा समातिएकी एउटी प्रतिष्ठित महिलाको बारेमा रसूल (सल्लल्लाहु अलैहि व सल्लम) सित सिफारिस गर्दै भने, ‘उनीमाथि हद कायम नगर्नुहोस्’ यो सुनेर उहाँले जवाफ दिनु भयो… “अल्लाहको कसम ! यदि मेरी छोरी फातिमाले चोरी गरेकी भए, म उसको पनि हात काट दिन्थेँ।” (श्रोत- बुखारी : ४०५३, मुस्लिम : १६८८)
- जुन बेला ब्याज अवैध भयो, उहाँले सर्वप्रथम आफ्नै काका (अब्बास) लाई ब्याजको कारोबारबाट मनाही गर्नु भयो। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भयो… “आजदेखि ब्याजको कारोबार अवैध छ र सर्वप्रथम म अब्बासका सम्पूर्ण अवैध कारोबारलाई रद्द गर्दछु।” (श्रोत- मुस्लिम : १२१८)
- रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले विश्वकै समुदायको सभ्यता र उत्थानको मापदण्ड पारित गर्दै यसरी भन्नु भएको छ… “जबसम्म गरीबहरु धनीहरुबाट नडराइकन आफ्नो हक अधिकार असुल्दैन, तबसम्म कुनै पनि राष्ट्रको विकास र उत्थान सम्भव छैन।” (श्रोत- इब्ने माजा : २४२६)


