कृपया दान गरेर हाम्रो कामलाई निरन्तरता दिन र विकास गर्न मद्दत गर्नुहोस्। अल्लाहले तपाईँलाई इनाम दिनुहोस्।
मुहम्मद अल्लाहका रसूल हुन् भन्ने कुराको गवाही दिनुको अर्थ-
उहाँले दिनु भएका समाचारहरुको पुष्टि गर्नु, उहाँका आदेशहरुको पालना गर्नु, उहाँले मनाही गर्नु भएका कुराहरुबाट जोगिनु र उहाँको तरिका (सुन्नत) अनुसार नै अल्लाहको ईबादत गर्नु।
उहाँमाथिको आस्थाले कुन विषय वस्तुलाई समेटेको छ?
- १- उहाँले जानकारी गराउनु भएका सम्पूर्ण कुराहरुको पुष्टि गर्नु, जस्तै…
- अदृश्य र कयामतका कुराहरु, स्वर्ग र त्यसका वरदानहरु, नरक र त्यसका यातनाहरु इत्यादि।
- कयामतका निशानीहरु, कहाली लाग्दा घटनाहरु र अन्तिम युगमा घटिने घटनाहरु इत्यादि।
- आदिकालमा भएका कुराहरु, सन्देष्टा र तिनीहरुको समुदाय बीच भएका संवादहरु इत्यादि।
- २- उहाँको आदेशको पालना गर्नु र अवज्ञा नगर्नु, यसले निम्न कुराहरुलाई समेटेको छ,-

- रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को पूर्ण अनुसरण गर्नु पर्छ, किनकि हामीलाई यो कुरामा विश्वास छ कि उहाँले आफ्नो इच्छाले केही पनि बोल्नु भएन, जे बोल्नु भयो अल्लाहको आदेश अनुसार नै बोल्नु भयो। अल्लाहले भन्नु भएको छ… “जसले रसूलको अनुसरण गर्यो, वास्तवमा उसले अल्लाहको अनुसरण गर्यो।” (श्रोत- सूरह अन्निसा : ४/८०)
- उहाँले मनाही गर्नु भएका अवैध कुराहरु जस्तै… नराम्रो आचरण, दुर्व्यवहार इत्यादिबाट जोगिनु। हामीलाई यो कुरामा विश्वास छ कि मनाही गरिएका कुराहरुमा अल्लाहको कुनै न कुनै रहस्य छ र हाम्रो हितको लागि उपयुक्त छैन, यद्यपि त्यसको कारण हामीलाई थाहा नहोस्।
- उहाँका सम्पूर्ण आदेशहरुको पालना गरियो भने हामीलाई लोक र परलोकमा सुख, शान्ति तथा आनन्द प्राप्त हुनेछ। अल्लाहले भन्नु भएको छ… “अल्लाह र रसूलको आज्ञापालन गर, ताकि तिमीहरुमाथि दया गरियोस्।” (श्रोत- सूरह आलि-इमरान : ३/१३२)
- विश्वास राख्नु कि उहाँको अवज्ञाले नराम्रो परिणाम र कष्टकर सजाय हुनेछ। अल्लाहले भन्नु भएको छ… “उहाँको आदेश उल्लंघन गर्नेहरु सावधान रहुन्, कतै उनीहरुलाई कुनै संकटले नघेरोस् वा कुनै दु:खदायी प्रकोपले नसमातोस्।” (श्रोत- सूरह अन्-नूर : २४/६३)
- ३- उहाँको तरिका र निर्देशन अनुसार नै अल्लाहको ईबादत गर्नु, यसले निम्न कुराहरुलाई समेटेको छ,-
- उहाँको पूर्ण अनुसरण- रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को जीवन हाम्रो निम्ति आदर्श र ज्योति हो। एउटा साँचो मुस्लिमले जीवनको हरेक पाईला-पाईलामा उहाँको भनाई, गराई र आदेशको पूर्ण अनुसरण गर्नु पर्छ। हामी जति उहाँको अनुसरण गर्छौं त्यत्तिकै अल्लाहसँग नजिक हुनेछौं। उहाँको मायालु बन्न सक्छौं अनि स्वर्गमा उच्च स्थान प्राप्त गर्न सक्छौं। अल्लाहले भन्नु भएको छ… “भनिदेऊ, यदि तिमीहरु अल्लाहसँग प्रेम गर्छौ भने मेरो अनुसरण गर। अल्लाहले तिमीहरुसँग प्रेम गर्नु हुनेछ र तिम्रा पापहरुलाई पखालि दिनु हुनेछ। अल्लाह अत्यन्त क्षमाशील तथा परम दयालु हुनुहुन्छ।” (श्रोत- सूरह आलि-इमरान :३/३१)
- इस्लामि विधि-विधान पूर्ण छ- रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले इस्लाम र यसका सम्पूर्ण विधि-विधानहरुलाई बिना कुनै कमिबेशी पूर्ण रुपमा हामी समक्ष पुर्याउनु भएको छ। त्यसैले कसैलाई यसमा रसूल (सल्लल्लाहु अलैहि व सल्लम) बाट अप्रमाणित कुनै नयाँ कुराहरुको आविष्कार गर्ने वा थप्ने कुनै अधिकार छैन।
- अल्लाहको विधान प्रत्येक समय र स्थानको लागि अनुकूल छ- कुरआन र हदीसबाट प्रमाणित विधि-विधान र ऐन कानूनहरु प्रत्येक समय र ठाउँका लागि एकदम उचित र अनुकूल छ। मानिसको हकहितको बारेमा अल्लाह भन्दा बढी ज्ञान अरु कसलाई हुन सक्छ ? जसले उसको सृष्टि र अनुपस्तिथिबाट अवस्थित गर्नु भएको छ।
- सुन्नतको अनुसरण- कुनै पनि ईबादत कबूल हुनको लागि ‘इख्लास र इत्तिबा’ अर्थात मात्र अल्लाहकै लागि र रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को तरिका अनुसार नै हुनुपर्छ। अल्लाहले भन्नु भएको छ… “जो कोही आफ्नो प्रभुसित भेट्न इच्छुक छ, उसले सत्कर्म गर्नु पर्दछ र आफ्नो ईश्वरको उपासनामा कसैलाई साझेदार बनाउनु हुँदैन।” (श्रोत- सूरह अल्-कहफ : १८/११०)
- धर्ममा नयाँ कुराको आविष्कार अवैध छ- यदि कसैले रसूल (सल्लल्लाहु अलैहि व सल्लम) बाट अप्रमाणित उपासना वा त्यसका अनौठा तरिकाहरु आविष्कार गर्छ भने त्यो कदापि स्वीकार हुँदैन। यो सुन्नतसँग खुल्लमखुल्ला खेलवाड र घृणित कार्य हो, जसको सजाय उसले अवश्य पाउने छ। अल्लाहले भन्नु भएको छ… “उहाँको आदेश उल्लंघन गर्नेहरु सावधान रहुन्, कतै उनीहरुलाई कुनै संकटले नघेरोस् वा कुनै दु:खदायी प्रकोपले नसमातोस्।” (श्रोत- सूरह अन्-नूर : २४/६३) रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “जो कोही हाम्रो यस धर्ममा कुनै नयाँ कुराहरुलाई समावेश गर्छ, जो यसमा छैन भने त्यो रद्द छ र यो नै ‘बिद्अत’ हो।” (श्रोत- बुखारी : २५५०, मुस्लिम : १७१८)

