उहाँको शुभ जन्म-

सन् ५७० ई॰ मा साउदी अरबको प्रसिद्ध र पवित्र ठाउँ ‘मक्का’ मा टुहुरो भएर जन्मिनु भयो। उहाँलाई असाध्यै माया गर्ने आमाले पनि चाँडै नै छोडेर जानु भयो। त्यसपछि हजुरबा ‘अब्दुल-मुत्तलिब’ को पालनपोषणमा हुर्कनु भयो तर केही समयपछि उहाँको पनि मृत्यु भयो। त्यसपछि काका ‘अबु-तालिब’ को पालनपोषणमा हुर्कनु भयो।

उहाँको बाल्यकाल-

सन्देष्टा (रसूल) हुनु भन्दा अगाडि आफ्नो जीवनको चालिस वर्ष (५७०-६१० ई॰) आफू जन्मेको स्थान र गोत्र ‘कुरैश’ मा बिताउनु भयो। उहाँको जीवन सबैको लागि एउटा अतुलनीय उदाहरण थियो। उहाँ आफ्नो समुदायमा अमीन र सादिक (इमान्दार र सत्यवान) को उपनामले प्रसिद्ध हुनुहुन्थ्यो। दुई छाक टार्नको लागि उहाँले मक्काको चर्को घाममा भेंडाबाख्रा चराउने काम समेत गर्नु भयो र बिस्तारै-बिस्तारै व्यवसायतिर पाईला टेक्नु भयो। इस्लाम अघि उहाँ एकाग्र भएर हाम्रा पुर्खा इब्राहीम (अलै-हिस्सलाम) को तरिका अनुसार अल्लाहको ईबादत गर्नु हुन्थ्यो। मूर्ति पूजा तथा बहुदेववादी प्रथादेखि असाध्यै घृणा गर्नु हुन्थ्यो। उहाँले जीवनमा कहिल्यै पनि मूर्ति पूजा गर्नु भएन।

रसूलको ताज पहिरेको दिन-

यसरी उहाँले आफ्नो उमेरको चालिस वर्ष पूरा गर्नु भयो। उहाँ मक्का नजिक ‘नूर पर्वत’ मा अवस्थित ‘हेरा गुफा’ मा गएर सोचविचार र अल्लाहको उपासना गर्नु हुन्थ्यो। निर्मित मूर्ति तथा प्रतिमाको पूजाबाट मानिसहरुलाई कसरी बचाउन सकिन्छ भन्ने कुरामाथि मनन् गर्नु हुन्थ्यो। एक दिन त्यसै गुफामा उपासना गरिरहेको बेला अल्लाहले आफ्नो वरिष्ठ तथा विशेष स्वर्गदूत ‘जिब्रिल’ लाई पठाएर उहाँलाई अन्तिम रसूल छनौट गर्नु भयो। सर्वप्रथम कुरआनका यी आयत (श्लोक) हरु अवतरण भएका थिए। यसको पहिलो शब्द “ईक्रा विस्मि रब्बिकल्लजी खलक” (पढ त्यस ईश्वरको नामबाट जसले सृष्टि गर्यो) ले नै ज्ञान-विज्ञान तथा सुमार्गदर्शनको महत्वलाई दर्शाईरहेको छ। यसरी २३ वर्षको अवधिमा पूरा कुरआन अवतरण भयो।

प्रचार-प्रसारको प्रारम्भ-

रसूलको ताजबाट सम्मानित भइसकेपछि उहाँ इस्लामको प्रचार-प्रसारमा सक्रिय हुनु भयो। दु:ख-पीडा र आफ्नो ज्यानको परवाह नगरिकन तीन वर्षसम्म लुकिछिपी इस्लामको आह्वान गर्नु भयो। त्यसपछि दश वर्षसम्म खुल्लमखुल्ला इस्लामतिर आह्वान गर्नु भयो। प्रचार-प्रसारको क्रममा आफ्नै घरपरिवार र समाजबाट सहन नसक्ने नानाथरीका मानसिक तथा शारीरिक यातना भोग्न बाध्य हुनु भयो। हज्जमा आउने भक्तजनहरुलाई इस्लामको आह्वान गर्नु हुन्थ्यो। तिनीहरुमध्ये मदीनावासीले उहाँको निमन्त्रणालाई स्वीकार गरे अनि सकेसम्म सहयोगको वाचा पनि गरे। त्यसपछि मक्कावासीले दिएको दु:ख-पीडा खप्न नसकेर मुस्लिमहरु विस्तारै-विस्तारै मदीना तर्फ हिजरत (प्रवास) गर्न थाले।

उहाँको हिजरत (प्रवास)-

मक्कावासीको दु:ख-पीडा सहेर भए पनि १३ वर्षसम्म उहाँले तिनीहरुलाई इस्लामको आह्वान गर्नु भयो। तिनीहरुले सामुहिक रूपमा उहाँको हत्या गर्न दुष्प्रयास गरे। इस्लामको दियो ननिभोस् भनेर उहाँले सन् ६२२ ई॰ मा मदीनातिर हिजरत (प्रवास) गर्नु भयो। त्यतिबेला मदीनाको नाम ‘यस्रिब’ थियो र उहाँ ५३ वर्षको हुनुहुन्थ्यो। आफ्नो जीवनको अन्तिम दश वर्ष मदीनामा नै बिताउनु भयो। सलाह, जकातलगायत इस्लामका सम्पूर्ण विधि-विधानहरुलाई पूर्ण रुपमा व्यख्या गर्नु भयो र हामीलाई जीवनको गोरेटोमा खाँचो पर्ने हरेक कुराहरुको जानकारी दिनु भयो।

इस्लामको विस्तार-

रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले मदीनाको प्रवासपछि सन् ६२२-६३२ ई॰ सम्मको अवधिमा इस्लामि संस्कार र सभ्यताको बीउ छर्नु भयो। एउटा असल मुस्लिम समाजमा हुनुपर्ने गुणहरुलाई औंल्याउनु भयो। गोत्रको पक्षपात गर्ने प्रवृत्तिलाई निर्मुल पार्नु भयो। जताततै ज्ञानको ज्योति छर्नु भयो। न्याय, निसाफ, स्थिरता, भाइचारा, आपसी सहयोग र राज्य व्यवस्थालाई कायम गर्नु भयो। केही गोत्रहरुले इस्लामलाई निर्मुल पार्न खोज्दा विभिन्न युद्ध तथा घटनाहरु घटियो, जसमा अल्लाहले आफ्नो धर्म र रसूललाई विजय गर्नु भयो। त्यसपछि इस्लाम ग्रहण गर्नेहरुको ओइरो नै लाग्यो। मक्कालगायत अरब खाडिमा रहेका अधिकांश शहर तथा गोत्रहरु राजी खुशी इस्लामको छत्रछायाँमा आउन थाले।.

उहाँको निधन-

उहाँले दूतत्व र सुम्पिएको जिम्मेवारीलाई हामी माझ पुर्याउनु भयो। इस्लामलाई पूर्ण गरेर अल्लाहले आफ्नो वरदानलाई पूरा गर्नु भयो। इस्लामि पात्रो अनुसार हिज्री सम्वत ११ को ‘सफर’ को महिनामा उहाँलाई ज्वरो आयो र अवस्था नाजुक हुँदै गयो यहाँसम्म कि ‘रबिउल-औवल’ महिनामा सोमवारको दिन तदानुसार ८/६/६३२ ई॰ ६३ वर्षको उमेरमा उहाँको निधन भयो। मस्जिद नब्वीको छेउमा रहेको श्रीमती आईशा (रजियल्लाहु अन्हा) को घरमा उहाँलाई ‘दफन’ गरियो।

हाम्रो नबीको नाम-
मुहम्मद बिन अब्दुल्लाह बिन अब्दुल-मुत्तलिब बिन हाशिम अल्-कुरशी।
अरबको सबैभन्दा गौरबमय बंश उहाँको नै थियो।
विश्वव्यापी रसूल-
अल्लाहले हाम्रो नबी मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) लाई समस्त संसारबासी गोरो-कालो, अरबी, गैर-अरबी तथा सम्पूर्ण जात वर्गको लागि विश्वव्यापी रसूल बनाएर पठाउनु भएको थियो। उहाँको अनुसरण सबैमाथि अनिवार्य छ। अल्लाहले भन्नु भएको छ… “भनिदेऊ, हे मानव हो ! म तिमीहरु सबैका लागि अल्लाहको सन्देष्टा (रसूल) बनाएर पठाइएको हुँ।” (श्रोत- सूरह अल्-आ’राफ : ७/१५८)
उहाँमाथि कुरआन अवतरण भयो-
अल्लाहले हाम्रो नबी मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) माथि महान र पवित्र ग्रन्थ कुरआन अवतरण गर्नु भयो। जसमा अगाडि-पछाडि, दाँया-बाँया कतैबाट मिथ्या कुरा कदापि मिसाउन सकिदैन।
सम्पूर्ण नबी र रसूलहरुका समापक-
अल्लाहले मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) लाई दूतत्वलाई समाप्त गर्ने अन्तिम रसूल छनौट गरेर पठाउनु भएको थियो। उहाँपछि कुनै अर्को रसूल आउनु हुने छैन। अल्लाहले भन्नु भएको छ… “उनी अल्लाहका अन्तिम रसूल र सम्पूर्ण सन्देष्टाहरुका समापक हुन्।” (श्रोत- सूरह अल्-अह्जाब : ३३/४०)