सलाह (नमाज)

सलाहको वास्तविक अर्थ : प्रार्थना गर्नु हो। भक्त र उसको सृष्टिकर्ता बीच सम्बन्ध कायम गर्ने आधार हो। यसले अल्लाहको उपासना, बिन्ती र गुहारको उच्च भाव र अर्थहरुलाई समेटेको छ। भक्त उहाँलाई गुहार्छ, उहाँसँग कानेखुसी गर्छ, यो थोत्रो संसार र आफ्नो असल वास्तविकतालाई सम्झिन्छ। आफ्नो ईश्वरको महिमाको बोध गर्छ र सलाहमा तल्लीन हुन्छ। सलाहले इस्लाममाथि हिड्न धैर्यता दिन्छ र अत्याचार, दुर्व्यवहार, अश्लील र अवज्ञादेखि टाढा राख्छ। अल्लाहले भन्नु भएको छ… “निश्चय नै सलाहले अश्लील कार्य तथा नराम्रो कुराहरुबाट जोगाउँछ।” (श्रोत- सूरह अल्-अन्कबूत : २९/४५)

सलाहको स्थान र विशेषता

सलाह, शारीरिक उपासनाहरूमध्ये एउटा महत्वपूर्ण उपासना हो। यसमा हृदय, मस्तिष्क र जिब्रो सबै समावेश रहेको हुन्छ। यसको महत्व धेरै जसो कुराहरुमा देखा पर्छ, तीमध्ये केही यस प्रकार छन्…

सलाहको स्थान-

  1. १ यो इस्लामको दोस्रो ठूलो आधार हो। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “इस्लाम पाँच कुराहरूमाथि आधारित छ… अल्लाह बाहेक अरु कोही सत्य उपास्य छैन र मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) अल्लाहका रसूल (सन्देष्टा) हुन् भन्ने कुराको गवाही दिनु र सलाह कायम गर्नु …..।” (श्रोत- बुखारी : ८, मुस्लिम : १६) स्मरण रहोस् ! यो इस्लामको बलियो जग हो र जग बलियो छैन भने घर कदापि बलियो हुन सक्दैन।
  2. २ सलाहले एउटा मुस्लिम र काफिरमा फरक पारेको छ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “मानिस, शिर्क र अवज्ञा बीच फरक पार्ने कुरा सलाह छोड्नु हो।” (श्रोत- मुस्लिम : ८२) उहाँले भन्नु भयो… “हामी र उनीहरू बीच जुन सन्धि हो त्यो सलाह नै हो, तसर्थ जसले यसलाई छोड्यो उसले अवज्ञा गर्यो।” (श्रोत- तिर्मिजी : २६२१, निसाई : ४६३)
  3. ३ अल्लाहले यात्रामा, घरपरिवारमा, युद्धको मैदानमा, बिरामी भएको र सकुशल रहेको सम्पूर्ण अवस्थाहरुमा अनिवार्य रुपमा सलाह पढ्ने आदेश दिनु भएको छ। अल्लाहले भन्नु भएको छ… “सलाहहरुको सुरक्षा गर।” (श्रोत- सूरह अल्-बकरह : २/२३८) अल्लाहले आफ्ना आस्थावानहरुको विशेषताको वर्णन गर्दै भन्नु भएको छ… “उनीहरू आ-आफ्ना सलाहलाई सुरक्षित राख्दछन्।” (श्रोत- सूरह अल्-मुमिनून : २३/९)

सलाहका विशेषताहरु-

अल्लाहले प्रत्येक अवस्थामा यहाँसम्म कि युद्ध र आपतकालीन अवस्थामा पनि सलाह पढ्ने आदेश दिनु भएको छ।

सलाहको विशेषताको बारेमा कुरआन र हदीसमा धेरै प्रमाणहरु छन्, तीमध्ये केही यस प्रकार छन्-

  1. १- यसले पापहरु पखालि दिन्छ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “पाँच अनिवार्य सलाहहरु र जुमादेखि अर्को जुमासम्म ठूलो पाप गरेको छैन भने यसले सम्पूर्ण पापहरुलाई पखालि दिन्छ।” (श्रोत- मुस्लिम : २३३, तिर्मिजी : २१४)
  2. २. यसले मुस्लिमको जीवनलाई प्रकाशमय बनाउँछ, सत्कर्मको प्रेरणा दिन्छ र कुकर्मबाट जोगाउँछ। अल्लाहले भन्नु भएको छ… “निश्चय नै सलाहले अश्लील कार्य तथा नराम्रो कुराहरुबाट जोगाउँछ।” (श्रोत- सूरह अल्-अन्कबूत : २९/४५) रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “सलाह प्रकाश हो।” (श्रोत- मुस्लिम  : २२३)
  3. ३. कयामत (महाप्रलय) को दिन भक्तसँग सर्वप्रथम सलाहको बारेमा सोधिनेछ। यदि यसमा सफल भइयो भने बाँकी खुड्किलाहरुमा सफलता प्राप्त हुनेछ र यसमा नै असफल भइयो भने अन्य सत्कर्महरु बेकार हुने छन्। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “कयामत (महाप्रलय) को दिन भक्तसँग सर्वप्रथम सलाहको बारेमा प्रश्न हुनेछ। यदि यसमा सफल भइयो भने बाँकीमा सफलता प्राप्त हुनेछ र यसमा नै असफल भइयो भने बाँकीमा पनि असफल भइनेछ।” (श्रोत- अलमोअजमुल-औसत लित्तब्रानी : १८५९)
सलाह एउटा मुस्लिमको लागि आनन्दमय क्षण हो। सलाह पढ्दा जब आफ्नो ईश्वरसित दुखेसो पोख्दछ र कानेखुसी गर्दछ,
त्यतिखेर उसले मनको सन्तुष्टि र अल्लाहको प्रेम पाउँछ।
सलाहले रसूल (सल्लल्लाहु अलैहि व सल्लम) लाई बढी आनन्दित बनाउथ्यो। उहाँले भन्नु भएको छ… “मेरो आँखाको शान्ति र खुशी सलाहमा राखिएको छ।” (श्रोत- निसाई : ३९४०)
उहाँ आफ्नो मोअज्जिन (अजान दिने व्यक्ति) बिलाल (रजियल्लाहु अन्हु) लाई भन्नु हुन्थ्यो… “ए बिलाल ! सलाहद्वारा मलाई शान्ति देऊ।” (श्रोत- अबु-दाऊद : ४९८५)
जुन बेला रसूल (सल्लल्लाहु अलैहि व सल्लम) लाई कुनै ठूलो समस्या आई पर्थ्यो त्यस बेला उहाँ सलाहको लागि हतारिनु हुन्थ्यो। (श्रोत- अबु-दाऊद : १३१९)

कुन व्यक्तिमाथि सलाह अनिवार्य छ?

सलाह हरेक मुस्लिम, बुद्धिमान, बालिग पुरुष र महिलामाथि अनिवार्य छ। महिलाहरुले मासिकधर्म तथा सुत्केरी भएको बेला सलाह पढ्नु हुँदैन र पवित्र भएपछि पनि कजा (पूरा) गर्नु पर्दैन।

वयस्क हुनुका पहिचानहरु-

१. १५ वर्ष पुगेको हुनु।
२. गुप्ताङ्गहरुमा खस्रो रौं निस्कनु।
३. सपना वा बिपनामा वीर्य स्खलन हुनु।
४. महिलालाई मासिकधर्म आउनु वा गर्भ बोक्न योग्य हुनु।