सलाहमा एकाग्रता
एकाग्रताको महत्व- एकाग्रता नै उपासनाको प्राण हो। एकाग्रता भनेको अल्लाहको अगाडि तुच्छ र नीच भएर मन र मस्तिष्कलाई उपस्थित राखेर सलाह पढ्नु, कुरआनको पाठ र दुआहरुमा मनन् गर्नु हो।
यो महत्वपूर्ण उपासना र उच्च अनुसरण हो। त्यसैले अल्लाहले आस्थावानहरुको गुण दर्शाउँदै भन्नु भएको छ… “वास्तवमा, ती आस्थावानहरु सफल हुन्छन् जो एकाग्रताका साथ सलाह पढ्छन्।” (श्रोत- सूरह अल्-मुमिनून : २३/१-२)
जसले एकाग्रताका साथ सलाह पढ्छ, उसले नै भक्ति र ईमानको वास्तविक स्वाद पाउँछ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “मेरो आँखाको खुशी सलाहमा नै रहेको छ।” (श्रोत- निसाई : ३९४०) आँखाको खुशी भनेको सुख र शान्ति हो।
सलाहमा एकाग्रता प्राप्त गर्ने तत्वहरु
सलाहमा एकाग्रता प्राप्त गर्ने तत्वहरु धेरै छन्, तीमध्ये केही यस प्रकार छन्-
- १) सलाहको लागि पूर्ण रुपमा तयारी गर्नु-
पुरुषहरुले समय हुने बित्तिकै मस्जिदतिर लाग्नु, फर्ज भन्दा पूर्वका सुन्नतहरू नियमित रुपमा पढ्नु, राम्रो र सुहाउँदो कपडामा सजेर नम्रतापूर्वक मस्जिद जानु।
- २) ध्यान भङ्ग गर्ने सम्पूर्ण बाधा र अड्चनहरुलाई दूर गर्नु-
ध्यान भङ्ग गर्ने चित्र, गाजा-बाजाको आवाज र खेल-तमाशा भएको ठाउँमा सलाह पढ्नु हुँदैन। त्यसैगरी बेस्सरी भोक लागेको वा दिसा-पिसाबले च्यापेको बेला सलाहको लागि नजानु, पहिले आफ्नो आवश्यकतालाई पूरा गर्नु, अनि एकाग्र भएर ध्यानपूर्वक सलाह पढ्नु र अल्लाहसित कुराकानी गर्नु।
- ३) विस्तारै-विस्तारै सलाह पढ्नु-
रसूल (सल्लल्लाहु अलैहि व सल्लम) रुकू र सज्दा सुकुनका साथ गर्नु हुन्थ्यो। यहाँसम्म कि प्रत्येक हड्डी आफ्नो ठाउँमा फर्किन्थ्यो। उहाँले राम्रोसँग सलाह नपढ्नेलाई सलाह दोहोर्याउने र कागको ठोंग झैं छिटो-छिटो नपढ्ने आदेश दिनु भएको छ।
रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “सबैभन्दा नराम्रो चोरी सलाहमा चोर्नु हो” उनीहरुले सोधे… ए हजुर ! सलाहमा कसरी चोरी गर्न सकिन्छ त ? उहाँले जवाफ दिनु भयो… “राम्रोसँग रूकू र सज्दा नगरी हतार-हतारमा सलाह पढ्नु नै सलाहको चोरी हो” (श्रोत- अहमद : २२६४२)
जुन व्यक्ति विस्तारै-विस्तारै सलाह पढ्दैन उसको सलाहमा एकाग्रता कहिल्यै पनि उत्पन्न हुन सक्दैन र कागको ठोंग जस्तै पढेको सलाह खेर जानेछ।
- ४) कसको अगाडि उभिएको छ, उसको महानतालाई सम्झिनु-
सलाह पढिरहेको बेला सृष्टिकर्ताको महानता, आफ्नो कमजोरी र तुच्छतालाई सम्झिनु पर्छ। सर्वशक्तिमान अल्लाहको अगाडि नम्रतापूर्वक उभेर गुहार गरिरहेको बोध हुनुपर्छ। अल्लाहले परलोकमा आस्थावानहरुका लागि कति सुन्दर प्रतिफल र काफिरहरुका लागि कति दुखदायी यातना तयार पार्नु भएको छ र महाप्रलयको दिन अल्लाहको अगाडि उसको अवस्था कस्तो हुनेछ भन्ने कुरालाई सम्झिनु पर्दछ।
जो आस्थावान उक्त कुराको सम्झना गर्छ तिनीहरुकै बारेमा अल्लाहले भन्नु भएको छ… “निश्चय नै सलाह अत्यन्तै कठिन कार्य हो, तर नम्रतापूर्वक सलाह पढ्नेहरूका लागि निकै सरल हो। जो आफ्नो ईश्वरसित भेट्ने अनि फर्केर उहाँतिर जाने कुरामा विश्वस्त छन्।” (श्रोत- सूरह अल्-बकरह : २/४५-४६)
अल्लाहले हाम्रा सम्पूर्ण क्रियाकलापहरुलाई हेरिरहनु भएको छ, हाम्रा दुआलाई सुनिरहनु भएको छ भन्ने आभास हुने बित्तिकै स्वतः सलाहमा एकाग्रता उत्पन्न हुनेछ।
- ५- कुरआनको पाठ र दुआहरुमा विचार पुर्याउनु-
अल्लाहले मनन् गर्न र ध्यान दिनको लागि कुरआनलाई अवतरण गर्नु भएको छ। अल्लाहले भन्नु भएको छ… “उनीहरुले यो मंगलमय ग्रन्थमा ध्यान दिउन् र बुद्धिजीवीहरूले उपदेश ग्रहण गरुन् भन्ने उद्देश्यका साथ हामीले कुरआनलाई अवतरण गरेका हौं।” (श्रोत- सूरह साद : ३६८/२९) तर जबसम्म अरबी भाषाको ज्ञान हुँदैन, तबसम्म त्यसको अर्थ र अभिलाषा जान्न गाह्रो हुन्छ। किनभने त्यस श्लोकमा के भनिएको छ थाहा हुने बित्तिकै मनमा अनौठो मजा आउँछ र कहिले काही आँखा पनि रसाएर आउँछ र मोति झैं आँसु झर्न थाल्छ। अल्लाहले भन्नु भएको छ… “जब तिनीहरुलाई कुरआनको पाठ गरेर उपदेश दिइन्छ तब तिनीहरु बहिरो र अन्धो भएर झुक्दैनन्।” (श्रोत- सूरह अल्-फुर्कान : २५/७३)


