सुन्नत सलाहहरु के के हुन्?
एउटा मुस्लिमले दिनरातमा पाँच चोटि अनिवार्य रुपमा अनिवार्य सलाह पढ्नु पर्छ।
तर यी पाँच फर्ज बाहेक केही सुन्नत (गैर-अनिवार्य) सलाहहरु छन् जसलाई पढ्न इस्लामले प्रेरणा दिएको छ। यी सुन्नत सलाहद्वारा अल्लाहको माया पाउन सकिन्छ र अनिवार्य सलाहमा भएको त्रुटीलाई पूरा गर्न सकिन्छ।
सुन्नत (गैर-अनिवार्य) सलाहहरु धेरै छन्, तीमध्ये केही महत्वपूर्ण यस प्रकार छन…
- १- सुन्नत मुअक्कदह- यो अनिवार्य सलाहदेखि कहिल्यै पनि अलग हुँदैन। त्यसैले यसलाई सुन्नत मुअक्कदह भनिन्छ।
रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “जो कोही मुस्लिम प्रत्येक दिन फर्ज बाहेक १२ रकात सलाह पढ्छ, अल्लाहले उसको लागि स्वर्गमा घर बनाउनु हुनेछ।” (श्रोत- मुस्लिम : ७२८)
यी सुन्नतहरु यस प्रकार छन्-
| 1 | फज्रमा… अनिवार्य सलाह भन्दा अगाडि दुई रकात। |
| 2 | जुहरमा… अनिवार्य सलाह भन्दा अगाडि चार रकात (दुई-दुई गरी पढ्नु) र सलाहपछि दुई रकात। |
| 3 | मग्रिबमा… अनिवार्य सलाहपछि दुई रकात। |
| 4 | ईशामा… अनिवार्य सलाहपछि दुई रकात। |
- २-वित्रको सलाह- यसका रकात बेजोड हुन्छ त्यसैले यसलाई वित्र (बेजोड) भनिन्छ। यो सुन्नत सलाहहरुमध्ये सर्वोत्कृष्ट सलाह हो। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “हे कुरआनवालाहरु हो ! वित्रको सलाह पढ्दै गर।” (श्रोत- तिर्मिजी : ४५३, इब्ने माजा : ११७०)
वित्रको सलाहको समय- यसको सर्वोत्कृष्ट समय रातको अन्तिम पहर हो। ईशाको सलाहपछि प्रात: काल (फज्रको अजान) सम्म जहिले पनि पढ्न सकिन्छ।
वित्रको रकात- कम भन्दा कम एक रकात पढ्नु पर्छ, तर तीन रकात पढ्नु उत्तम हो। तीन भन्दा बढी पढ्न सकिन्छ, किनकि रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ११ रकातसम्म पढ्नु हुन्थ्यो।
सुन्नत (गैर अनिवार्य) सलाह दुई दुई रकात गरी पढ्नु उत्तम हो। दुई रकात पढेर सलाम फेर्नुहोस्, फेरी उस्तै दुई रकात पढ्नुहोस् र अन्तमा वित्रको एक रकात पढ्नुहोस्। वित्रको अन्तिम रकातमा रुकूबाट उठेपछि र सज्दा गर्नु भन्दा पूर्व प्रमाणित वित्र (कुनुत) को दुआ र आफ्नो मनले चाहेका कुराहरु हात थापेर माग्नु।
सुन्नत सलाहका निषेधित समयहरु-
सुन्नत सलाहहरु तीन निषेधित समय बाहेक जहिले पनि पढ्न सकिन्छ, किनकि त्यो गैर-मुस्लिमहरुको पूजाको समय हो। निषेधित समयमा मात्र छुटेको अनिवार्य सलाहलाई कजा (पूरा) गर्न र तहियतुल-मस्जिद पढ्न सकिन्छ। स्मरण रहोस् ! निषेधित समय मात्र सलाहको लागि हो, दुआ जुनसुकै समयमा गर्न सकिन्छ।
निषेधित समयहरु-
| 1 | १- फज्रको सलाहपछि सूर्य उदाएर अलिमाथि आकाशमा पुगेसम्म, इस्लामि विधान अनुसार एक भालाको उँचाई जति हुनुपर्छ। अनुकूल वातावरण भएका मुलुकहरुमा सूर्य उदाएपछि २० मिनेटसम्म। |
| 2 | २- मध्यान्हमा आफ्नो शिरमाथि सूर्य पुगेको बेलामा।यो निषेधित समय जुहरको समय हुनु पूर्व केही क्षणको लागि मात्र हुन्छ। |
| 3 | ३- अस्रको सलाह पढिसकेपछि सुर्यास्तसम्म। |


